• १३ असोज २०८१, आइतबार

विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग सिरिजको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत २७ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग टी–२० सिरिज खेल्ने घोषणा गरेको छ ।

क्यानले वेस्ट इन्डिजसँग घरेलु मैदानमा पाँच खेलको सिरिज आयोजना गर्न लागेको हो । नेपालले ओमानमा चैत ३० गतेदेखि सुरु हुने एसीसी प्रिमियर कप पछि वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । 

प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले चैत ३० गते मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । 

समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल अप्रिल २१ तारिख हुनेछ । 

त्यसपछि नेपाल र वेस्ट इन्डिजबिच कीर्तिपुरस्थित त्रिवि मैदानमा टी–२० सिरिज हुनेछ । दुई टोलीबिचको पहिलो खेल अप्रिल २७, दोस्रो खेल अप्रिल २८, तेस्रो खेल मे १, चौथो खेल मे २ र पाँचौँ खेल मे ४ मा हुनेछ ।

आइसिसी टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा हुनेछ । विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।