• १८ वैशाख २०८१, मङ्गलबार

साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

blog

काठमाडौँ, चैत २५ गते । मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । 

चालु आवको आठ महिनामा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ । आगामी वैशाख दोस्रो सातादेखि हुने लगानी सम्मेलन तयारीसँगै मुलुकमा भित्रिने विदेशी लगानीको रकम प्रत्येक महिना बढ्दै गएको छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म पाँच अर्ब ६३ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा एक अर्ब १७ करोड विदेशी लगानी भित्रिएको थियो । यस्तै आठ महिनामा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई तीन अर्ब ८९ करोड कायम भएको छ । गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ५८ करोड कायम भएको थियो । 

नेपालमा विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिने गरेको छ । मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाइएको छ । उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीले नीतिगत सुधारले मुलुकमा वैदेशिक लगानी बढ्दै गएको जानकारी दिनुभयो । 

चालु आवको आठ महिनामा विभिन्न २५३ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । फागुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड २० लाख रुपियाँ प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । 

सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएका छन् । उद्योग विभागका अनुसार आठ महिनामा २१ अर्ब ८५ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको छ । यस्तै मझौला उद्योगमा तीन अर्ब ६३ करोड र ठुला उद्योगमा तीन अर्ब ६६ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । आठ महिनामा सबैभन्दा धेरै सेवामूलक, पर्यटन उद्योगमा लगानी प्रतिबद्धता रहेको छ । आठ महिनामा २३८ साना उद्योग, मझौला १२ र तीन वटा ठुला उद्योग दर्ता भएका छन् ।  

गत आव ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो तर सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रुपियाँ रहेको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ । सरकारले आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गर्दै रहेको सन्दर्भमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुने अनुमान गरिएको छ । 

धेरै लगानी प्रतिबद्धता कोरिया र चीनबाट

आठ महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता कोरियाबाट १३ वटा परियोजनामा १२ अर्ब ८४ करोड रुपियाँ आएको छ । यस्तै चीनबाट १५३ परियोजनामा नौ अर्ब ४१ करोड ५५ लाख ६४ हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै अमेरिकाबाट १० परियोजनामार्फत एक अर्ब १० करोड ८९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सिङ्गापुरबाट, क्यानडा, जापान, स्विजरल्यान्ड, नेदरल्यान्ड, ट्रकीलगायतका अन्य देशबाट विदेशी लगानी प्रतिबद्धता आएको छ । 

देशमा सुरुदेखि हालसम्म उद्योग विभागमार्फत चार खर्ब ७८ अर्ब ८३ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता धेरै आए पनि लगानी भने ३० देखि ३५ प्रतिशतसम्म मात्र भित्रिने गरेको छ । छ अर्बसम्मका परियोजना उद्योग विभागबाट स्वीकृत हुन्छ । अरू ठुला आयोजना भने लगानी बोर्डबाट स्वीकृत हुने गर्छन् ।