डा. नम्रता पाण्डे
एउटा गाउँको बीच जङ्गलमा सानो झुपडीमा फकिरका दम्पत्ति बस्दथे । एक साँझ मुसलधारे पानी प-यो मानौँ कि झुपडी नै भत्काउलाजस्तो । रातको करिब एघार बजेतिर कसैले ढोकामा आवाज दियो । पत्नीले ढोका खोलेर हेर्न भनिन् । फकिरले ढोका खोले, पानी प¥यो हजुर घर पुग्न भ्याइएन, शरण दिनुप-यो । पत्नीले सोधिन्–को रहेछ ? फकिरले भने–एक अपरिचित मित्र आउनुभएको रहेछ, बाहिर मुसलधारे पानी परिरहेको छ, आज यहीँ बस्नुहुन्छ हामीसँगै । पत्नी आफ्ना पतिको स्वभाव देखेर मनमनै दङ्ग परिन्, परिचित व्यक्ति त मित्र बन्न सक्दैनन् संसारमा, अपरिचित व्यक्तिलाई मित्र मानेका छन् कस्तो प्रेमको भाव होला । अपरिचित मित्र भित्र आए, पत्नीले भनिन् ठाउँ सानो र साँघुरो छ, दुई जना मात्र अट्ने, दुःख गरेर भए पनि बस्नुपर्ला ।
फकिरले भने–लाटी यो कुनै अमिरको बङ्गला हो र ठूलो हुने, फकिरको झुपडी । अमिरको घरमा त एक जना पाहुना थपिए कहाँ राख्ने के चिन्ता पर्न सक्छ । तिमी चिन्ता नलेऊ, हाम्रो झुपडी सानो छ तर हृदय ठूलो बनाउँ न ! मित्रलाई हामी हृदयमा स्थान दिएर राखौँ, यहीँँ जे जसो छ बसौँ मिलेर । तीन जनालाई सुत्ने ठाउँ पुग्दैन त्यसैले अब हामी बसौँ जे जति लुगा छ ओढेर, बसेपछि त ठाउँ प्रशस्त हुन्छ नि, फकिरले तरिका निकाले । अब तीनजना गफसफ गर्दै आँखा चिम्लेका मात्र थिए बाहिर ढोकामा आवाज दियो कसैले । फकिरले भने कोही आएजस्तो छ, आज पानी रोकिएन, जङ्गलको बीचमा सबैलाई गाह्रो भयो ।
अघि आएर बसेका मित्रले भने–अब कसरी अटाउला यो मान्छे त, भित्र छिराएर के गर्ने ढोका बन्द गर्न पनि मिल्दैन । उनले आफूलाई परेको दुःख बिर्से । फकिरले भने–मित्र मैले भनेँ त हृदयमा ठाउँ छ भने अटिन्छ । तपाईं आउँदा पनि यहाँ ठाउँ थिएन, मैले बनाएको हो । प्रेम भएपछि ठाउँ बन्छ फकिर हाँस्दै ढोका खोले, नभन्दै दुईजना मित्र बाहिर रुझेका रहेछन् । उनीहरूलाई भित्र छिराएर, पानी पुछ्न दिएर भने–अब हामी अलि कोचिएर बस्नुपर्ला । सबैजना मिलेर नजिक नजिक कोचिएर बसे । गफसफ गर्दै थिए, फेरि एउटा गधा रुँदै ढोकामा आएर ढक्ढक्याउन थाल्यो र टाउको हल्लाउँदै पानीबाट जोगाउन इसारा ग¥यो । फकिरले ढोकाको छेउमा बसेका पछि आएका दुईजना मित्रमध्ये एकजनालाई ढोका खोलिदिन अनुरोध गरे ।
ती मित्रहरूले भने, यो गधा हो, कोही मित्र होइन, फेरि ठाउँ भए पो खोलिदिनु ? कस्तो कुरा गर्नुभएको ? ती दुईजना साथीहरूले भन्न थाले–ठीक छ ढोका त खोलौँला तर गधा कहाँ अटाउँछ ? फकिरले भने, तपाईंलाई थाहा होला तपाईं भित्र छिर्दा चाहिँ यहाँ हाम्रोमा ठाउँ थियो र ? तपाईंका लागि हृदयमा ठाउँ तयार भयो अनि सम्भव भयो । अर्को कुरा, अमिरको ढोकामा मानिसलाई पनि गधाको रूपमा व्यवहार गर्ने चलन छ त्यो त म बुझ्छु तर म त गरिब फकिर हुँ मलाई गधाको पनि मानिसलाई झैँ माया लाग्छ । गधालाई पनि मानिसकै व्यवहार गर्ने बानी छ, त्यसैले ढोका खोलिदिनुस् मित्र । ठाउँको चिन्ता नलिनुस्, यतिन्जेल हामी बसेका थियौँ, अब हामी सबैजना उठौँ, ठाउँ निस्किहाल्छ, गधा पनि अटाउँछ । ठाउँ नै पुगेन भने म बाहिर जाउँला । आजको रात हजुरहरू सबै मेरो पाहुना हुनुहुन्छ ।
मेरो प्रेमको भावले त्यतिसम्म गर्न सक्छु । वास्तवमा प्रेम पाउने चिज होइन, प्रेम दिने चिज हो । जति प्रेम दिन जान्यो त्यति मनमा पनि तृप्ति मिल्छ, सन्तोष मिल्छ । दिनका लागि भौतिक सम्पत्ति प्रशस्त हुनुपर्छ त्यो जरुरी छैन । हृदयदेखि प्रेमको भाव प्रस्फुटन भयो भने सानातिना समस्या, समस्या नै लाग्दैन । प्रेमको अभाव नै अपूर्णताको महसुस र गरिबीको अनुभूति हो । बेसर्त, विनाकारण, विनाप्रशंसा र विनापुरस्कार दिने प्रेम नै वास्तविक प्रेम हो । जहाँ प्रेम छ त्यहाँ आनन्द छ, जहाँ आनन्द छ त्यहाँ ध्यान घटित भएको महसुस हुन्छ । जब आनन्दको मात्रा बढ्दै जान्छ हरेक चिजमा, हरेक क्षणमा परमात्माको नजिक बसेको अनुभूति हुन्छ । त्यसैले हृदय खुला र विराट हुनासाथ प्रेम पनि प्रस्फुटन हुन्छ, ध्यानस्थ अवस्थाको अनुभूति हुन्छ अनि परमात्मासँग साक्षात्कार भएको, उसको साथमा भएको अनुभूति हुन्छ । एउटा मूर्ति र मन्दिरमा त परमात्मा छ भनेर श्रद्धाले शिर झुकाउने मानिस परमात्माको सृष्टिलाई प्रेम दिएर उसमा परमात्मा भेट्न सक्दैन र ?
जसरी परमात्माको पूजा अर्चना, दानदक्षिणा र साधु सन्तलाई भोजन गराएर, भगवान्लाई भोग लगाएर परमात्मा खुसी बनाउन सकिन्छ भने आस्था र मान्यता छ, त्यसैगरी प्रकृतिमा रहेका परमात्माको सृष्टिलाई सेवा गर्ने तरिका छ जसले गर्दा परमात्मा खुसी हुनुहुन्छ । सुक्खा खडेरीको मौसम छ धेरै पन्छी पानी खान नपाएर तड्पिरहेका छन् । आफ्नो घर आँगन, कौसीमा कतै पनि एउटा भाँडोमा पानी राखिदिऊँ, चाराको व्यवस्था गरिदिऊँ । व्यवस्था गर्न सक्ने अवस्था भएसम्म सडकमा अलपत्र परेका पशु चौपायालाई भोजनको व्यवस्था र वासस्थानको व्यवस्थापन गरिदिन सके अरू राम्रो । असहाय, दुःखी जसलाई हाम्रो सानो सहयोगले मद्दत पुग्छ त्यस्तो मौकामा नचुकौँ । कतिको भन्ने बानी छ कतिलाई दिनु ? दिऊँ सकेजति, भएजति, किनभने आज हामीलाई उसले दिएको छ भने भोलि पानी दिँदैन र ? किन सञ्चय गरेर राख्नुछ ? कुन स्वास र कुन साथ अनि कुन रात अन्तिम हुन्छ थाहा छैन । त्यसैले करुणापूर्ण कर्म गरेर सकिन्छ भन्ने धारणा नै त्यागौँ । परमात्मा जहाँतही पुग्न सक्दैन त्यसैले उसले हामीलाई बनाएको छ, जिम्मेवारी दिएको छ । प्रकृतिको सृष्टिलाई प्रेम गर्ने, सम्मान गर्ने, सहयोग गर्ने कलाको विकास गरौँ । तिनै कर्मको माध्यमबाट जुन आनन्द, शान्ति, प्रेम र तृप्तिको अनुभूति मिल्छ त्यो क्षण नै परमात्मासँग मिलन हुन्छ ।
स्वास परमात्माकै इसारा र आशिषले चलेको छ बीउबाट वृक्ष हुन परमात्माकै ऊर्जाले काम गर्छ । दिन–रात, चन्द्र–सूर्य, ग्रह नक्षत्र, ब्रह्माण्ड, सबै संरचना र गति, शक्ति अर्थात् जीवन्तता परमात्माकै अनुभूति हो । संसार र परमात्मामा विरोधाभास देख्नु अल्पज्ञानको परिणाम हो ।
गीत, सङ्गीत, शृङ्गार, रस, स्वाद, गन्ध, हास्य, रूपरङ्ग, स्मरण, भक्ति, प्रार्थना, आराधना, नदीनाला, प्रकृति र सुन्दरता अनि विविधता सबै परमात्माकै अभिव्यक्ति न हो । अब यसलाई अनुभूति गर्न गहन समझको विकास हुनुपर्छ । उसका हरेक रहस्यमय अभिव्यक्ति र सिर्जनामा डुब्न र मनन गर्न सक्ने शान्त र एकाग्र चित्तदशाको आवश्यकता पर्छ । जुन प्रत्येक व्यक्तिको भौतिक विकासमा समेत मार्गदर्शक बन्न सक्छ । मानिस एक्लैको प्रयासले त जे पनि हुन्छ अपूर्ण नै हुन्छ । त्यसमा पूर्णता भर्ने, जीवन्त तुल्याउने काम परमात्मा अर्थात्
अस्तित्वको कृपा हो ।
एक मध्यरातमा मुल्ला नसरुद्धिन सपनाबाट ब्युँझे र श्रीमतीलाई चस्मा खोजेर ल्याउन अराए । श्रीमतीले चस्मा त ल्याइदिइन् अनि सोधिन्–यो निद्रामा चस्मा किन हो मध्यरातमा ? मुल्ला नसरुद्धिनले भने–तिमीलाई थाहा छ नि मेरो आँखाको देख्ने शक्ति कमजोर छ, सपना राम्रो राम्रो थियो तर आँखाको शक्तिको कारण धमिलो धमिलो देखेँ त्यसैले अब चस्मा लगाएर सुत्छु ताकि अब सपना देख्दा प्रष्ट देख्न सकूँ । हाँसो उठ्न सक्छ मुल्ला नसरुद्धिनको कुरा सुनेर तर हामीलाई पनि भरोसा छैन, सपनासमेत सच्याएर देख्न खोज्छौँ र आफ्नै अनुकूलताअनुसार बनाउन चाहन्छौँ । मैले गरेर मात्र हुन्छ भन्ने मानिसको अहंकारकै कारण जागृत रहन परमात्माको अनुभूति र उसको सृष्टिप्रतिको सम्मान जरुरी हुन्छ ।