नेपालमा राष्ट्रिय युवा परिषद्को स्थापना राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार सोही वर्ष फागुनमा भएको थियो । युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहने यस परिषद्मा नेपाल सकारबाट मनोनीत एक जना कार्यकारी उपाध्यक्ष रहने र योजना आयोगसहित विभिन्न आठ मन्त्रालयका सचिव तथा अध्यक्षबाट मनोनीत २५ जना विभिन्न क्षेत्रका युवा सदस्य र परिषद्को वरिष्ठतम कर्मचारी सदस्य सचिव रहने व्यवस्था छ । ‘नेपाली युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने’ दूरदृष्टि परिषद्ले लिएको छ । नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको सङ्घीय, प्रदेश र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीकरण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालित युवालक्षित कार्यक्रमको समन्वय, सहकार्य र सहजीकरण गर्ने काम परिषद्ले गर्दै आएको छ ।
स्वस्थ, कर्मठ र उद्यमी युवा, अधिकार र कर्तव्यप्रति सचेत युवा, समावेशी र सशक्त युवा र नेतृत्वदायी र स्वावलम्बी युवा भन्ने मान्यतालाई परिषद्ले आत्मसात् गरेको छ । यी मान्यताको व्यावहारिक रूपान्तरणका लागि युवा वर्गको नेतृत्व विकास गरी राज्यका फरक फरक तह र क्षेत्रका नीतिनिर्माण तहसम्म वस्तुवादी सोचसहित कर्तव्यनिष्ठ, सकारात्मक, इमानदार, सिर्जनशील र सदाचार भावनाको विकासमा युवा परिषद्ले नेतृत्वदायी भूमिका खेल्न सक्नु पर्छ । स्वदेशमा नै रहेर उद्यमशील भावनाका साथ सिप हासिल गर्ने र स्वरोजगारी सिर्जनामा लाग्न युवालाई अभिप्रेरित गर्न आवश्यक छ । बदलिएको विश्वमा सूचना प्रविधिको छलाङ र जलवायु परिवर्तनलगायत कूटनीतिका फरक फरक आयामप्रति सचेत र जिम्मेवार विश्व नागरिक विकासमा जोड दिन आवश्यक छ ।
राष्ट्रनिर्माण एवं राष्ट्रिय विकासमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने, युवा वर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिका रूपमा स्थापित गर्दै उनीहरूमा रहेका क्षमता उजागर गर्ने, श्रमको सम्मान गर्ने संस्कृति विकास गर्दै युवाको शारीरिक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुसंस्कृत, सिर्जनशील तथा व्यावसायिक रूपमा दक्ष युवा तयार गर्ने जस्ता परिषद्को उद्देश्य रहेका छन् ।
युवा तथा खेलकुद मन्त्रालय सम्पर्क मन्त्रालय रहेको यस परिषद्ले हालसम्म मन्त्रालयको विभागीय कार्यालयभन्दा माथि उठेर प्रवर्तनात्मक गतिविधि गर्न कठिन भइरहेको देखिन्छ । परिषद्को आफ्नो छुट्टै आम्दानीको स्रोत छैन । नेपाल सरकारबाट विनियोजित बजेट तथा कार्यक्रमको परिधि र सीमाभित्र रहेर गरिने क्रियाकलापले परिषद्बाट राखिएको अपेक्षा पूरा गर्न सहज देखिन्न । वित्तीय सीमितताका बिचबाट परिषद्ले आफ्नो उद्देश्य अनुसार प्रस्ताव गरिएका कतिपय महìवपूर्ण र युवालक्षित कार्यक्रम पनि बिचैमा गायव हुने गरेको देखिन्छ ।
अर्कातिर युवाका क्षेत्रमा क्रियाशील सामाजिक संस्थासँगको सहकार्य र समन्वयलाई चित्तबुझ्दो ढङ्गले विस्तार गर्न सकिएको छैन । अझ गम्भीर र चित्त नबुझ्ने विषय त नेपालमा रहेका केही शक्ति राष्ट्रहरूका दूतावासमार्फत सोझै युवा परिचालन गर्ने अभ्यास रहेको छ । वैदेशिक र सरकारमार्फत प्राप्त हुने अनुदान वा सहयोग दूतावासमार्फत युवामा सोझै परिचालन गर्ने र सहजीकरणमा राष्ट्रिय युवा परिषद्को भूमिका शून्य बनाउने गलत अभ्यास रोक्न आवश्यक छ ।
अहिले जेनजी पुस्ताको नेतृत्वमा भएको भष्टाचार विरोधी आन्दोलनमा युवाको बलिदानीपछि सरकारको नेतृत्व परिवर्तन भएको छ । यो परिवर्तनसँगै आन्दोलनका विविध आयामका सपना छताछुल्ल भएर निकास खोजी रहेका छन् । यससँगै अहिलेको आन्दोलनको उठान र बैठानमा विगतमा नेतृत्व गरिरहेका राजनीतिक दलहरूका कमीकमजोरी मात्र जिम्मेवार छन् कि सामाजिक सञ्जालमा आए जस्तो र कतिपय अगुवा विश्लेषकले भने जस्तो अन्य भूराजनीतिक चाख अनुसारको चलखेल जिम्मेवार छ ? अथवा असन्तुष्ट समूहको स्वार्थले भूमिका खेलेको छ कि ? भन्ने विषय गम्भीर खोजीको विषय रहेको छ । यसका साथै नेपालले केही वर्षयता समृद्धि र विकासमा फड्को मार्दै आएको विश्लेषणउपर पनि समीक्षा गरी आगामी मार्गचित्र तयार गर्नुपर्ने देखिन्छ । सरकारमा रहँदा राम्रो देख्ने र बाहिर हँुदा नराम्रो मात्र देख्ने दृष्टिकोणमा यथार्थवादी चिन्तको विकास हुन आवश्यक छ । यस अर्थमा यो परिवर्तनलाई संस्थागत गर्न र पुस्ता जेडसँगै बुमर्स, एक्स, वाईदेखि अल्फा र बिटासम्मका अपेक्षालाई उचित मार्गदर्शन गरी मुलुकको क्षमतासँग एकाकार गर्न राष्ट्रिय युवा परिषद्को भूमिका थप विस्तार गर्नुपर्ने देखिन्छ । यसका लागि राष्ट्रिय युवा परिषद्को गठन र परिचालनमा नयाँपन दिन आवश्यक हुन सक्छ ।
अहिले आकाङ्क्षा, अपेक्षा र वर्तमानको सम्भावनाका बिचमा उभिएका युवालाई दलीय चिन्तनभन्दा माथि उठेर राष्ट्रिय स्वाभिमान, स्वावलम्बन, सिप, स्वरोजगारसँगै आफ्नो इतिहास, संस्कार र संस्कृतिप्रति गर्व गर्न र जिम्मेवार बनाउन सही मार्गदर्शन आवश्यक छ । आसन्न निर्वाचनमा स्वस्थ निर्वाचन प्रक्रिया अवलम्बन गर्न र मतदाताको मताधिकारको उचित उपयोग गर्न गराउन परिषद्ले भूमिका खेल्न सक्छ ।
विगतमा सरकारले गलत ग¥यो भन्ने मात्र चर्चाले काम गर्दैन । हामीले राणाकाल, पञ्चायत, राजतन्त्रदेखि पुराना राजनीतिक दल, कर्मचारी वा उद्योगी व्यवसायीले गलत गरे भन्न सिकेका छौँ तर परिवर्तनका लागि आफू र आफ्ना कहाँ रहन्छौँ भन्ने सोच त्यागेर मुलुकको भविष्य निर्माणमा पूर्ण निस्वार्थ रूपमा परिचालन हुन सकेका छैनौँ । अर्थात् विरोध गर्न जानेका छौँ तर विरोधलाई रचनात्मक उन्नति र विकासका दिशामा परिचालन गर्न सकेका छैनौँ ।
तसर्थ राष्ट्र निर्माणका विविध क्षेत्रमा परिषद् आफूले विगत वर्षदेखि गर्दै आएका नमुना युवा संसद् अभ्यास, युवा उद्यमशीलता प्रवर्धन सम्मेलन, उद्यम गर्नका लागि वित्तीय साक्षरता तालिम, संयुक्त राष्ट्रसङ्घीय नमुना महासभा, युवा वैज्ञानिक प्रदर्शनी र सम्मेलन, युवा परामर्श, स्वयंसेवक विकास र परिचालन, इन्क्युवेसन, सुशासन र युवामैत्री शासन विकासमा सहजीकरण र परीक्षण, परम्परागत सिपको संरक्षण जस्ता कार्यका साथै युवाको मनोबल विकासमा परिचालित हुन सक्छ । यस्तो कामका लागि सरकारी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार, लगानीकर्ता र स्वयंसेवकीय मनहरूका बिचमा उचित समन्वय, सहकार्य र साझेदारी गर्ने पद्धति बलियो बनाउँदै लैजानु सक्नु नै अहिलेको आवश्यकता देखिन्छ ।