• १२ साउन २०८१, शनिबार

दुः दुः च्याँ च्याँ जात्रा सुरु

blog

काठमाडौँ, चैत २१ गते । पशुपतिनाथमा मनाइने धार्मिक महत्वको दुः दुः च्याँ च्याँ जात्रा मङ्गलबारदेखि सुरु भएको छ । यस जात्रामा घोडेजात्राका दिन हुने पशुपतिनाथ र वत्सलेश्वरी देवीको जात्रा हेर्न आउनु भनी देवीदेवता र भक्तजनलाई निम्ता गर्ने प्रचलन छ ।

हरेक वर्ष चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्ने गर्दछ । दुः दुः च्याँ च्याँ जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने भाषा वंशावलीमा राजा भूपलेन्द्र मल्लको पालादेखि परम्परा रहेको पशुपति विकास कोषले जनाएको छ । 

जात्रामा आमाको दूध खाने बालबालिकासमेत लिएर हेर्न आउनु भनी निमन्त्रणा गरिने भएकाले दुः दुः च्याँ च्याँ भन्ने गरिएको हो । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु हुने जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिनुभयो । जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाश भैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिन्छ । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिन्छ । बज्रेश्वरी जात्रा समापन हुनेबित्तिकै वत्सलेश्वरीको जात्रा आरम्भ हुन्छ ।

पशुपतिनाथको सानो मूर्तिलाई खटमा राखेर सहर परिक्रमा गराएर यो जात्रा मनाइन्छ । पशुपतिको देवपत्तनबाट सुरु हुने यो जात्रामा पशुपतिनाथका पूजारीसहितको एक टोलीले विशेष प्रकारको बाजा बजाएर सहर परिक्रमा गर्ने चलन रहेको संस्कृति अभियन्ता तथा पुजारी राजन महर्जनले जानकारी दिनुभयो ।