• २२ वैशाख २०८१, शनिबार

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने पक्राउ

blog

काठमाडौँ, चैत २० गते । खाजाघरमा काम गर्न राखेकी १३ वर्षीया नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने खाजाघरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी–६ घर भई काठमामाडौँको बालाजुस्थित ‘लाफा’ खाजाघरका सञ्चालक नवीनकुमार मगर रहेको प्रहरीले जनाएको छ । 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार नाबालिकालाई डर, त्रास र प्रलोभनमा पारी मगरले जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेका थिए । 

ब्युरोको टोलीले खाजाघरमा गई निगरानी गर्ने क्रममा नाबालिका नाम परिवर्तन बबरमहल–२६ (२७७) लाई वेश्यावृत्तिमा लगाएको पाएपछि खाजा सञ्चालक मगरलाई पक्राउ गरिएको हो । ती नाबालिकाको आइतबार राति प्रहरीले उद्धार गरेको छ ।

मगरले पीडित नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउन २०८० फागुनदेखि खाजाघरमा मासिक तलब दिने प्रलोभन देखाएर राखेका थिए । सो खाजाघरमा डर, त्रासमा पारी अन्य नाबालिकालाई समेत जबरजस्ती वेश्यावृत्तिमा लगाएको हुन सक्ने देखिएपछि थप अनुसन्धान भइरहेको छ । 

पीडित नाबालिकाले प्रहरीमा दिएको जाहेरीका आधारमा मगरविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई ब्युरोले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसै गरी रोजगारीको प्रलोभन देखाएर एक युवतीलाई भारत पु¥याएर वेश्यालयमा बेचबिखन गरेको आरोपमा ब्युरोले काठमाडौँबाट दुई पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर–७ घर घई काठमाडौँ तारकेश्वर–५ बस्ने चद्रबहादुर तामाङ र किरण तामाङ रहेको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार पीडित युवती (नाम परिवर्तन) बबरमहल–२६ (२६०) लाई आरोपी चन्द्रबहादुर तामाङले सामाजिक सञ्जालमार्फत चिनजान गरी काठमाडौँ कङ्लकीको एक होटलमा काममा लगाइदिने प्रलोभन देखाएर बोलाएका थिए ।  पक्राउ परेका तामाङद्वयले होटलमा काम खाली नभएकाले चार/पाँच दिन भारतमा घुमेर आउने प्रस्ताव राखेका थिए । 

गत मङ्सिर १९ गते काठमाडौँको नयाँ बसपार्कबाट भारत पु¥याएपछि तामाङले ती युवतीलाई अपरिचित महिलाको जिम्मा लगाई फरार भएका थिए । युवतीले आफू बेचबिखनमा परेको शङ्का गरी तत्कालै सो स्थानबाट भागेर प्रहरी कार्यालयमा पुगी बेचबिखनमा पर्नबाट जोगिएको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरी र मानव बेचबिखनविरुद्ध काम गर्ने सङ्घ संस्थाको सहयोगमा गत पुस १२ गते नेपाल फर्कन सफल युवतीको जाहेरीपछि प्रहरीले आरोपी चन्द्रबहादुर तामाङ र किरण तामाङलाई ब्युरोको टोलीले आइतबार काठमाडौँबाट पक्राउ गरेको जनाएको छ ।