• २१ वैशाख २०८१, शुक्रबार

बझाङमा माओवादीबाट बुढा उम्मेदवार

blog

धनगढी, चैत १९ गते । नेकपा (माओवादी केन्द्र) ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । 

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले बुढालाई उम्मेदवार बनाइने बताउनुभयो ।  उहाँका अनुसार माओवादीको प्रदेश सचिवालय बैठकले उम्मेदवारका लागि बुढाको एकल नाम सर्वसम्मत पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको छ । 

बझाङ क्षेत्र नम्बर १ बाट काङ्ग्रेसबाट निर्वाचित प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रदेश सचिव बुढा २०७० को संविधानसभा सदस्य हुनुहुन्छ । २०५६ सालमा महेन्द्रनगरको सिद्ध नाथ बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीमा आबद्ध भएका बुढा २०५८ देखि भूमिगत हुनु भएको थियो  । उहाँले २०६२ सालमा माओवादीको बाजुरा जिल्ला सचिव र २०६४ मा बैतडी जिल्ला सचिव भएर काम गर्नु भएको छ । २०६४ देखि २०७० सालसम्म बुढा बझाङ जिल्ला अध्यक्ष तथा इन्चार्जको जिम्मेवारीमा समेत हुनुहुन्छ । 

२०५८ देखि २०६० सालसम्म अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य रहनु भएका बुढाकी श्रीमती २०५८ सालमा तत्कालीन शाही नेपाली सेनाबाट मारिनु भएको थियो भने घरमा आगजनी गरिएको थियो । 

माओवादीको बैठकले सङ्घीय गठबन्धन अनुसार प्रदेशमा समेत सरकार बनाउन पहल गर्ने निर्णय गरेको इन्चार्ज पोखरेलले बताउनुभयो  । यस्तै गरेर माओवादी प्रदेश सचिवालय बैठकले सुदूरपश्चिममा पार्टीको सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।