• ७ जेठ २०८१, सोमबार

नौ महिनामा एक हजार ९२ मुद्दा दर्ता

blog

अविनाश चौधरी
धनगढी, वैशाख १ गते ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा चालू आर्थिक वर्षको नौ महिनामा एक हजार ९२ मुद्दा दर्ता भएको छ । नौ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी कार्यालयले आर्थिक वर्षको तुलनामा बढी मुद्दा दर्ता भएको जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको यहीँ अवधिमा एक हजार २४ वटा मुद्दा दर्ता भएको थियो । कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता वेदप्रकाश जोशीले चालू आर्थिक वर्षको नौ महिनामा गत आर्थिक वर्षको तुलनामा ६.६३ प्रतिशत बढी मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

प्रवक्ता जोशीका अनुसार नौ महिनाको अवधिमा लागूऔषध शीर्षकमा १११ मुद्दा दर्ता भएका थिए । उहाँले उक्त दर्ता भएका मुद्दामा नौ महिला र १६१ पुरुष गरी १७९ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गत आर्थिक वर्षको नौ महिनामा लागूऔषध शीर्षकमा ७६ वटा मुद्दा दर्ता भएका थिए भने चार महिला र ९७ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रवक्ता जोशीले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ४६.५ प्रतिशतले लागूऔषध अपराध वृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘लागूऔषध कारोबारमा १५ देखि २५ वर्ष उमेर समूहका व्यक्तिको बढी संलग्नता देखिएको छ ।’’

प्रहरीले चालु आर्थिक वर्षको नौ महिनामा खैरो हेरोइन २४८ ग्राम ७८१ मिलिग्राम, ट्याब्लेट नाइट्राभेट ७८३, क्याप्सुल स्पास्पो ७४१ बरामद गरेको छ । यसैगरी ४१ किलो ५७ ग्राम चरेश, ८० क्याप्सुल नाइट्राजपाम, २३ थान प्रोयवेल स्पाम र आठ थाम ट्रामोडोल प्रहरीले बरामद गरेको छ ।

त्यस्तै, अदालतबाट फैसला भइ फरार रहेका ६६ जना र अनुसन्धानका क्रममा फरार भएका २५ जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गत आर्थिक वर्षमा यहि अवधिमा अदालतबाट फैसला भइ फरार भएका ४८ र अनुसन्धानका क्रममा फरार भएका २२ गरी ७० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो । फरार प्रतिवादी पक्राउ यस वर्ष ३० प्रतिशतले वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनसार चालू आर्थिक वर्षको चैतसम्म कर्तव्य ज्यान सम्बन्धी १४ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा कर्तव्य ज्यानका १२ वटा मुद्दा दर्ता भएको थियो । नौ महिनामा प्रहरीले ७२ जना महिलासहित एक हजार ९१ पुरुष गरेर एक हजार १६३ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रवक्ता जोशीले नौ महिनाको अवधिमा भन्सार छली, चोरी, निकासी तथा पैठारीका सामान पक्राउ गरेर एक करोड २० लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । साथै, १२ जना मान्छेसहित १० वटा सवारी साधन पनि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

अपराध न्यूनीकरणसम्बन्धी सचेतना फैलाउनका लागि समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत ‘हाम्रा प्रहरीसँग हामी’, र ‘हाम्रा सन्ततिको भविष्य बचाउ’ अभियान प्रहरीले चालन गर्दै आएको छ । त्यस्तै, उहाँले विद्यालयसहित विभिन्न स्थानमा ४४० वटा जनचेतनाका कार्यक्रम गरिएको जानकारी दिनुभयो ।