• ५ असार २०८१, बुधबार

माझीको जीवन नै नदी

blog

डुङ्गा खियाएर नदीको एक किनाराबाट अर्को किनारासम्म पुर्‍याउने मानिसको परिचय त्यतिमै सीमित छैन उनीहरूले माछा मारेर खाने र बेच्ने पनि गर्छन् । विगतमा माझीको सहायताले खोला नतर्नेहरू कमै होलान् ।  

माझीको आफ्नै वेशभूषा, भाषा र संस्कृति छ । २०७८ सालको जनगणना अनुसार नेपालका ६३ जिल्लामा एक लाख ११ हजार ३५२ माझीको बसोबास रहेको छ । माझी समुदायका आफ्नै चाडपर्व रहे पनि ती ओझेलमा परेका छन् । सङ्ख्यामा कमी हुनु, अनेक कारणले मूलधारमा आउन नसक्नु, राज्यले प्रोत्साहन नगर्ने कारणले ती चाडपर्व माझी समुदायमा मात्रै सीमित बनिरहेका छन् तर कतिपय स्थानीय तहले माझीका चाडपर्व प्रवर्धन गर्नमा जुटेको देखिन्छ । 

माझी समुदायको मुख्य पेशा माछा मार्ने, डुङ्गा (नाउ) मा राखेर मानिसलाई नदी तार्नु हो । विकास निर्माणसँगै नदीमा पुल निर्माण भएपछि डुङ्गामा राखेर मानिसलाई नदी पार गराउने पेशाबाट माझीहरू विमुख हुन थालेको देखिन्छ । 

नदीमा माछा मार्दा र डुङ्गा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित बर्सेनि माझी समुदायले फागुनको साँहिली मङ्गलबार लदी पूजा गर्ने गरेका छन् । त्यसको आफ्नो महत्व रहेको छ । 

जलको पूजा गर्ने चलन माझी समुदायमा परम्परादेखि रहिआएको छ । हरेक पटक डुङ्गामा बस्नुअगाडि या माछा मार्ने जाल लिएर जलाशयमा पस्नुअगावै यस समुदायमा जल देवताको सम्झना गर्ने चलन छ । यही चलनको एउटा संस्थागत अभ्यास र उच्चतम विश्वासको प्रतिरूपका रूपमा लदी पूजालाई लिइन्छ ।

नदी किनारमा माछा मार्ने, कृषि र पशुपालन पेशा पनि अपनाउने माझी समुदायले प्राकृतिक विपत् नआओस् भनेर हिउँदको अन्त्यतिर लदी पूजा गरिन्छ । माझी समुदायको सबैभन्दा ठूलो पर्व मानिन्छ लदी पूजालाई ।

जनजाति समुदायमा पर्ने माझीको जीवन नदीजन्य उत्पादनसँग जोडिएको छ । त्यसैले उनीहरू देवका रूपमा नदीको पूजा र प्रार्थना गर्छन् । उनीहरूको इष्ट देवता नै जल देवता हुन् । ३३ कोटि देवीदेवता भाकेर नदी किनारमा उनीहरूले पूजा गर्छन् । उनीहरूले पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल, नदी खियाउने औजार राख्ने गर्छन् । औजारमा उनीहरूले बलि पनि चढाउने चलन छ ।

माझीको बसोबास सुरक्षित भने छैन । नदी किनारको असुरक्षित बसोबाससँगै नदीमा माछा मार्ने व्यवसाय नै मुख्य पेशा भएकाले उनीहरूले पूजा गरेर आफ्नो र आफ्नो समुदायको सुरक्षाको कामना गर्छन् । 

नदीमा पुल निर्माण तथा क्रसर उद्योग सञ्चालनले डुङ्गा चलाउने र माछा मार्ने पेशा सङ्कटमा परेकोमा राज्यले संरक्षण दिन आवश्यक रहेको माझी समुदायको माग छ । माझी उत्थान सङ्घको अध्यक्ष चिनीमाया माझीका अनुसार लदी पूजा शताब्दीयौँको परम्परा हो र  राज्यले यसको संरक्षणमा विशेष चासो दिनुपर्छ । 

लदी पर्वमा कोसी पूजा गरेपछि नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता रहेको भनाइ छ सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका मनराम माझीको । त्यति मात्रै नभएर नदीसँग भाकल गरेको कुरा लदी पूजाले पूरा गर्ने मान्यता रहेको छ । 

लदी पूजाका दिन नदीको किनारमा ढुङ्गाको देवता, सिमली र बाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुङ्गोलाई पूजा गरिन्छ । सामूहिक विशेष पूजाआजा गर्दै कोसीलाई बोका, कुखुरा र परेवाको बलिसमेत दिइन्छ । साथै लदी पूजामा माझी समुदायले मौलिक पोशाक गुन्यु चोली र फेटा इस्टकोटमा सजिएर चामलको पिठोबाट बन्ने गोलमाडी परिकार खाने गरिन्छ । 

माझी जातिको जीवन लदी अर्थात् नदीसँग जोडिएको हुन्छ । माझी जातिको जीविकोपार्जन पनि नदी र नदीजन्य पदार्थबाटै हुन्छ । त्यसैले उनीहरू नदीको पूजा गर्छन् । माझी जातिलाई प्रकृति पूजक जाति मानिन्छ । 

लदी पूजा कहिलेदेखि मनाउन थालियो त्यसको यकिन समय भन्न सकिन्न तर सयौँ वर्षदेखि यो प्रचलनमा रहेको छ । 

मछ्यगन्धाबाट उत्पत्ति भएको मान्यता राख्ने माझी समुदायले परापूर्वकालदेखि नै लदी पूजा गर्दै आएको किंवदन्ती छ, लिखित प्रमाण भने माझीहरूसँग छैन । 

लदी पूजामा माझी जातिले बगेको पानीलाई पूजा गर्छन् । लदी भनेको माझी भाषामा कोसी अथवा नदी हो । नदी, कोसीको पूजा गर्नु नै लदी पूजा हो । 

नदीमा काम गर्नुपर्ने, नदीमै आश्रित रहनुपर्ने जीविकोपार्जनको मुख्य थलो, आम्दानीको स्रोत जे भने पनि कोसी अथवा नदी नै रहेकाले नदीले आफूहरूलाई जोगाइराखोस् भन्ने हेतुसहित माझीहरूले लदी पूजा गर्छन् । 

यसको सामाजिक महत्व पनि छ । एकै ठाउँमा बाक्लो बस्तीमा बस्न रुचाउने माझीहरू सामूहिक रूपमै खेती, माछा मार्ने कार्य गर्छन् । यसले उनीहरूबीच आत्मीयता र सामाजिक भावना प्रगाढ हुन्छ । 


लदी पूजाका लागि माझी समुदायले एक हप्ताअगाडि नै मानिसको सङ्ख्या अनुमान गरी प्रत्येक घरबाट रकम र चामल उठाउँछन् । सो चामलबाट माझी समुदायका महिलाले जाँड (मुन) बनाउँछन् । उठेको रकमबाट पाठी, राँगालगायत किन्ने गरिन्छ । 

लदी पूजाको अघिल्लो दिन माझी समुदायबाटै दुई पुजारीको व्यवस्था गरिन्छ । उनीहरूले घाम अस्ताएपछि केही पनि खान पाउँदैनन्, जसलाई उपासे बस्नु भनिन्छ । उनीहरूले नै पूजा सम्पन्न गर्छन् । लदी पूजा गर्न गाईको गोबर, ठूलो धँगेरीको सातवटा बोट, टोटलाको अण्डा, डुङ्गा, जाल, एक लोटा जाँड, आठ रेखी, सात कोठा, भेटी सातवटा, अक्षता, अबिरलगायतका सामग्री चाहिन्छ ।

पूजामा विभिन्न जीवजन्तुको बलि पनि दिइन्छ, जसलाई भोग चढाउनु भनिन्छ । कसैले भने आफ्नो र आफ्नो परिवार वा अन्य कुनै प्रयोजनका लागि केही कुरामा आशिष मागेका हुन्छन् अर्थात् भाकल गरेका हुन्छन् । सोही भाकल फुकाउन पनि लदी पूजामा माझीले जीवजन्तुको बलि दिने गर्छन् । 

यसरी पूजामा बलि दिइएका जीवजन्तुको कलेजो, मुटुलगायतका अङ्ग अँगेनामा पोलेर जाँडसहित देवीदेवतालाई चढाइन्छ । माझी समुदायका मानिसमा बलि दिइएका जीवजन्तुको मासु प्रसादका रूपमा थोरै थोरै भए पनि भाग लगाएर पु¥याइदिनुपर्ने चलन रहेको छ । 

लदी पूजाको समयमा बोलचाल नभएका छरछिमेक, दाजुभाइबीच पनि अनिवार्य रूपमा बोलचाल गर्नुपर्ने हुन्छ । सो दिन बोल्नैपर्ने भएकाले यसलाई मेलमिलापको पर्वका रूपमा पनि माझी समुदायले लिने गरेका छन् ।

खोला किनारका सबै काम सकिसकेपछि माझीहरू घाटबाट गीत गाउँदै पुजारीको घरसम्म लावालस्कर लागेर जान्छन् । पुजारीको घरमा महिला माझीहरू बसिरहेका हुन्छन् र उनीहरूले खोला किनाराबाट आएकाहरूलाई सुनपानीले छर्केपछि मात्र शुद्ध हुने माझी समुदायमा विश्वास गरिन्छ । 

त्यसको भोलिपल्ट पनि बाधा फुकाउने चलन छ । त्यहाँ पुनः सबैको उपस्थिति अनिवार्य हुन्छ । पुजारीले धूप हालेर शक्ति मागिसकेपछि घटवारे (डुङ्गा चलाउने व्यक्ति) ले डुङ्गालाई खोला वारिपारि गरिसकेपछि लदी पूजा सकिन्छ ।