• २६ जेठ २०८२, सोमबार

फेरि देखियो ‘लम्पी स्किन’

blog

काठमाडौँ, जेठ २६ गते । दुई वर्षअघि महामारीको रूप लिएको ‘लम्पी स्किन’ को सङ्क्रमण अघिल्लो वर्ष कम भए पनि यस वर्ष फेरि देखिन थालेको छ । पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ । 

वर्षाको समयमा सबैभन्दा धेरै ‘लम्पी स्किन’ को सङ्क्रमण देखिने भएकाले विभागले खोप सात वटा नै प्रदेशमा पठाएको छ । पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजार डोज खोपमध्ये १० लाख डोज खोप सात वटा नै प्रदेशमा पठाएको जानकारी दिनुभयो । चार लाख डोज खोप भने केन्द्रमा नै राखिएको छ । 

विभागमा कार्यरत डा. नवराज श्रेष्ठले प्रदेशको मागका आधारमा खोप उपलब्ध गराइएको प्रदेशले जिल्लामा पुर्‍याएर स्थानीय तहमा रहेका पशु स्वास्थ्यकर्मीले किसानको घर घरमा पुगेर खोप लगाउने उहाँले बताउनुभयो । 

देशका विभिन्न स्थानमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिन थालेकाले समयमै खोप लगाएर पशुधनमा हुने जोखिम कम गर्न आवश्यक रहेको महानिर्देशक तिवारीले उल्लेख गर्नुभयो । लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा ‘लम्पी स्किन’ सर्ने भएकाले सरसफाइमा विशेष ध्यान पुर्‍याउन विभागले अनुरोध गरेको छ । 

“अहिले ठुलो सङ्ख्यामा सङ्क्रमण देखिएको छैन, पूर्वतयारी गर्न विभागले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिरहेको छ,” उहाँले भन्नुभयो । 

अघिल्लो दिनसम्म सामान्य रहेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने, मुख र नाकमा घाउ हुने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किएमा पशु प्राविधिकलाई बोलाउन आवश्यक हुने पशु चिकित्सक मणिप्रसाद दाहालले बताउनुभयो । 

दाहालले भन्नुभयो, “गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो, यो । त्यसैले निकै सावधानी अपनाउनु पर्छ ।” उहाँले लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा ‘लम्पी स्किन’ सर्ने भएकाले सरसफाइमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले खोपले पनि सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । यो अवस्थामा सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरन क्षेत्रको प्रयोग गर्न नहुने बताउनुभयो । “पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने भएकाले पशु प्राविधिकले विशेष सावधानी अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो । सङ्क्रमित पशुको दुध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र खास गरी ज्वरो नियन्त्रण गर्न नसकेमा सङ्क्रमित गाईवस्तु मर्न सक्ने पशु चिकित्सक बताउँछन् । 

नेपालमा २०७७ साल असारमा मोरङको सुन्दरहरैँचामा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखिएको थियो । ‘लम्पी स्किन’ रोगका कारण मर्नेमा प्रायः अत्यधिक श्रममा खटिने गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाईभैँसी हुने गरेको विगतमा पुष्टि भएको पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले उल्लेख गर्नुभयो । नियमित रूपमा दैनिक १० लिटर दुध दिने पशुले मुस्किलले दुई लिटर दुध दिने अवस्था आउने भएकाले ध्यान पुर्‍याउन आवश्यक छ । 

सापकोटाले ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिन थालेको सूचना पशुसेवा विभागले जारी गरेको र पार्न सक्ने प्रभावलाई नियन्त्रणमा लिन सरकारले विशेष योजना अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले किसानले आफ्ना पशुमा समस्या देखिएमा तत्कालै प्राविधिक बोलाउनुपर्ने सुझाव दिनुभयो । स्वस्थ्य पशुमा अहिले नै ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउने हो भने जोखिम कम हुने उहाँले बताउनुभयो । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले ‘लम्पी स्किन’ रोगले विगतमा पारेको आर्थिक क्षतिबारे अध्ययन र हुन सक्ने जोखिमलाई समयमै ध्यान दिन सरकारसँग अनुरोध गर्नुभयो ।  उहाँले पशुचौपायाको मृत्युदरले ठुलो आर्थिक क्षति पुर्‍याउने र सङ्क्रमणबाट उत्पादनमा आउने ह्रास हुनु गम्भीर विषय भएको र सरकार तथा निजी क्षेत्रले त्यसबारेमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 

दुई वर्षअघि मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँ बराबरको आर्थिक क्षति बेहोरेका थिए । पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ पशुमा सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ । नेपालमा ३१ लाख हाराहारीमा गाई र ४७ लाख भैँसी छन् ।    

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।