• ४ असार २०८२, बुधबार

महिला स्वास्थ्य स्वयंसेविका जस्तै मधेशमा अब महिला कृषि स्वयंसेविका

blog

काठमाडौँ, असार ४ गते । मधेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन र कृषकका समस्या समाधान गर्न महिला कृषक स्वयंसेविका परिचालनको योजना अघि सारेको छ । यो योजना सरकार र नागरिकबिच स्वास्थ्य सेवाको पहरेदार बनेको सफल कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका जस्तै हो ।

ग्रामीण भेगमा महिला स्वास्थ्यको विकराल अवस्थामा रहेको प्रजनन तथा यौनरोगबारे खुलेर उपचारमा आउन नसक्ने समूहलाई पहिचान तथा उपचार व्यवस्थापनमा ल्याउन, मातृशिशु सेवा तथा स्याहारलाई परिष्कृत बनाउन, शिक्षा, स्वास्थ्य र समृद्धिमा समान पहुँच स्थापित गराई महिला सशक्तीकरणमा महिला स्वास्थ्य स्वयंसेविकाले काम गरे जस्तै कृषिमा आउन सक्ने समस्या निराकरणका लागि मधेश प्रदेशले महिला कृषक स्वयंसेविका परिचालनको योजना अघि सारेको हो । 

कृषकले सानो समस्यामै ठुलो क्षति बेहोर्न बाध्य हुन थालेपछि मधेश प्रदेश सरकारले किसानलाई आउन सक्ने समस्या निराकरणका लागि महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको हो । 

कृषिमा आत्मनिर्भर बन्दै सिङ्गो राष्ट्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना अनुसार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले महिला कृषि स्वयंसेविकाको अवधारणा अघि सार्नुभएको हो ।  

मधेश प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगर र ५९ गाउँपालिका गरी १३६ स्थानीय छन् । यी पालिकामा हजार २७१ वडा रहेकामा सबैमा महिला कृषि स्वयंसेविका भर्ना गरिँदै छ ।  “एक हजार २७१ महिला कृषक स्वयंसेविका परिचालन गर्ने लक्ष्य राखेर कार्यक्रम सुरु गरेका छौँ,” मुख्यमन्त्री सिंहले भन्नुभयो । 

मधेश प्रदेश सरकारले मधेश मात्र होइन, देशलाई नै पुग्ने गरी अन्न उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको दाबी गर्नुभयो । यस योजनाले रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भर समृद्ध मधेश निर्माणमा सहयोग पु¥याउने छ । 

मधेश श्रमको प्रदेश भएको र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेकामा कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्दै युवालाई यतै श्रम खर्चिने वातावरण निर्माण गर्न योजना बनाउँदै गरेको उहाँले जानकारी दिनुभयो ।  

मधेश प्रदेशले छनोट भएका कृषि स्वयंसेविकालाई आवश्यक तालिम दिएर कृषि प्रवर्धन, बिउ उत्पादन, किरा नियन्त्रण, मल व्यवस्थापन क्षेत्रमा कृषकलाई सेवा दिने छन् । यसले एकातिर महिलालाई रोजगारीसँगै आर्थिक रूपमा सक्षम बनाउने र अर्कातिर कृषि उत्पादन बढाउन भूमिका खेल्ने छ । 

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक हजार दुई जना महिला कृषक स्वयंसेविका भर्ना गर्न जेठ १५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरिसकेको छ । 

योग्यता पुगेका महिलाले आफ्नो स्थानीय तहको सिफारिससँगै कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल वा पशुसेवा विज्ञ कार्यालयमा दरखास्त दिन मन्त्रालयले अनुरोध गरेको छ । कम्तीमा एसइई उत्तीर्ण भएको, १८ वर्ष पूरा भएर ४० वर्ष ननाघेको र नेपाल सरकारको कृषि पशुपन्छी तथा मत्स्य विकासको तालिम लिएकालाई कृषि स्वयंसेविकामा दरखास्त दिन मिल्ने सूचनामा उल्लेख छ । 

   

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।