• ७ जेठ २०८१, सोमबार

कालीगण्डकीमा स्नान र शालिग्राम दर्शन गर्नेको भीड

blog

तिलाचन पाण्डे

तम्घास, वैशाख १ गते । वैशाख १ गते तीन जिल्लाको संगमस्थल सेतिबेनी र रिडीमा कालीगण्डकी नदीमा स्नान  गर्ने, शिला शालिग्रामको दर्शन गर्नेको भीड लागेको छ । 

कालीगण्डकी नदीमा गई स्नान गर्नाले अन्जानमा गरेको पापहरु नष्ट हुने भएकाले पनि कालीगण्डकी नदिमा स्नान गर्नेको भीड लाग्ने गरेको  पर्वतको पैँयु गाउँपालिका वडा नम्वर एकका ६५ वर्षीय बृहस्पति बस्यालले बताउनुभयो । 

यस्तै, एशियाकै ठूलो शिला शालीग्राम  पर्वत ,गुल्मी र स्याङजाको संगम स्थल सेतिबेनीमा रहेकाले पनि शिला शालीग्रामको दर्शन गर्नेहरुको बाक्लो उपस्थिती रहने गरेको उहाँको भनाई छ ।

अहिलेका नयाँ पुस्ताहरुले धर्मकर्म र संस्कृति संरक्षणमा ध्यान दिन छाडेको कालीगण्डकी गाउँपालिका वडा नं एक हर्मिचौरका ७८ वर्षीय खीमलाल पाण्डेले बताउनुभयो । उहाँले परम्परादेखि चल्दै आएका संस्कृति र परम्पराहरुलाई ध्यान दिन युवा पुस्तालाई आग्रह पनि गर्नुभयो ।

सेतिबेनीमा भजन कृतन सँगै बिशेष मेला पनि लागेको छ । यहाँ स्थानीय उत्पादनहरुलाई विक्री वितरणका लागि राख्ने गरिएको छ । स्थानीय उत्पादनहरु डोको, नाङलो डाला, कुुचो लगायतका सामग्रीहरु विक्री वितरणका लागि राखिएको छ । 

गुल्मी,पाल्पा र स्याङजाको संगम स्थल नेपालकै चार धाम मध्येको एक धाम रुरु क्षेत्रमा प्राचिन समयमा देबदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ ।

सोहि धार्मिक मान्यतानुसार यस पवित्रधाम रिडीमा स्नान तथा पुजा आजा गर्नाले पितृ ऋण, देव ऋण  तथा रिषी ऋण पुरा हुने धार्मिक प्रचलन छ । यहि धार्मिक प्रचलन र मान्यता अनुरुप कालीगण्डकी नदिमा स्नान गर्ने र बिभिन्न समयमा हुने मेलाहरुमा स्नान गर्ने तथा पुजा आजा गर्ने भत्तजनको घुईचो लाग्ने गर्दछन । रुरु क्षेत्रको ऋषिकेश मन्दिरमा पनि दर्शन गर्नेहरुको भीड लागेको छ ।

यस क्षेत्रमा नयाँ वर्ष, असारे एकादशी, कात्तिके एकादशी, माघे संक्रान्तिलगायतका पर्वहरुमा मेला लाग्ने र पूजाआजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।

रिडी र सेतिबेनीमा नयाँ वर्षको अवसरमा विशेष मेला लागेकाले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पारिएको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

मेला पर्वको अवसरमा सवारी साधनहरुले ओभरलोड बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने गर्ने भएकाले पनि चेक जाँचलाई अन्य दिनभन्दा कडाई गरिएको उहाँको भनाइ छ ।