• ७ जेठ २०८१, सोमबार

पोखरामा दलहरूबीच रस्साकसी

blog

सन्तोष सुवेदी

पोखरा वैशाख १ गते । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै पोखरा महानगरपालिकामा पनि नयाँ नेतृत्वका लागि विभिन्न दलहरूबीच लबिङ चलिरहेको छ । मतदाताको सङ्ख्याको हिसाबलाई आधार मान्दा पोखरा महानगपालिकामा मुख्य प्रतिस्पर्धा काँग्रेस र नेकपा एमालेकै हुने ठानिएको छ । 

अघिल्लो निर्वाचनमा नगरप्रमुखमा निर्वाचित मानबहादुर जिसीले काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार काँग्रेसका रामजी कुँवरलाई १३ हजार सात सय दुई मतले पराजित गर्नुभएको थियो । कास्कीमा एमालेबाट निर्वाचित २२ र काँग्रेसका ११ वडाध्यक्षहरू रहेका छन् । काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले स्थानीय निर्वाचनका लागि ४६ हजारभन्दा बढी मत आफूहरूको रहेको र अहिले करिब ३९ हजार मतदाता थपिँदा त्यसमा काँग्रेसको सङ्ख्या पनि धेरै  रहेको बताउनुभयो ।

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार उठाउन अहिले उत्तिकै सकस भएको छ । स्थानीय तहको निर्वाचनमा पहिलो पटक नेकपा (एकीकृत समाजवादी)ले सहभागी जनाउँदै छ । पहिलो पटक चुनावमा होमिएको समाजवादीले पोखरा महानगरपालिका आफ्नो पक्षमा हुनुपर्ने दाबी गरेको छ ।

कास्की काँग्रेस सभापति बरालले पोखरा महानगरपालिका समाजवादीले पाए कार्यकर्तामा आएको विग्रहका कारण परिणाम उल्टो आउने भएकाले नेतृत्वलाई सजग गराउन आवश्यक रहेको बताउनुभयो । गठबन्धन दलबीच सहकार्य गरेर जाँदा पनि पोखरा महानगरमा काँग्रेसलाई जित्न सहज हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गठबन्धनका कारणले काँग्रेसले पोखरामा मेयर पद गुमाउनु हुँदैन ।’’

पोखरा महानगर मेयरको नेतृत्व कुनै पनि हालतमा काँग्रेसले पाउनुपर्छ भन्दै कास्कीका नेताहरू काठमाडौं पुगेका छन् । डेलिगेसन टिमको नेतृत्व काँग्रेस कास्कीका पूर्वसभापति यज्ञबहादुर थापाले गर्नुभएको छ । 

एकीकृत समाजवादी पार्टी कास्कीका अध्यक्ष धनराज आचार्यले जिल्लाको गठबन्धन बैठकमा पनि कास्कीमा आफ्ना सङ्गठित सदस्य मात्रै छ हजार र मत सङ्ख्या १७ हजारभन्दा बढी रहेको बताउनुभएको थियो । समाजवादीबाट नगरप्रमुखमा आचार्यको नाम चर्चामा छ । 

गठबन्धनको नेकपा माओवादीले पनि पोखरा महानगरको मेयर आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । माओवादीबाट मेयरका दाबेदार विश्वप्रकाश लामिछानेले यसअघि काँग्रेसका मेयर उम्मेदवार रामजी कुँवरलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिनुभएको थियो । यसपालि त्यसको पैँचो स्वरूपमा मेयरमा काँग्रेसले समर्थन गर्नुपर्ने लामिछानेले बताउनुभयो । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा नगरप्रमुख एमालेका मानबहादुर जिसीलाई ६० हजार एक सय १८ मत परेको थियो । काँग्रेसका रामजी कुँवरलाई ४६ हजार चार सय १६ मत परेको थियो । अहिले थपिएका ३९ हजार छ सय मतमध्ये करिब आधा मतदाता आफ्ना रहेको एमालेको दाबी छ । सङ्गठन बलियो भएकाले आफूहरूको जित सुनिश्चित रहेको कास्की एमालेका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो । एमालेले महानगरपालिकाको उम्मेदवारको टुङ्गो पार्टी केन्द्रबाटै लगाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जुनसुकै दल आए पनि एमाले बलियो पार्टी हो । अघिल्लो पटक पनि गठबन्धन थियो तर हामीले जित्यौंँ । अहिले पनि विकल्प छैन ।’’

गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार यस पटक पोखरा महानगरमा ३९ हजार छ सय ४५ जना नयाँ मतदाता थपिएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ६८ हजार ६७ जना मतदाता थिए । अहिले थपिएका मतदातासहित दुई लाख सात हजार सात सय १२ जना मतदाता छन् ।