• १२ साउन २०८१, शनिबार

साना उद्योगमा लगानीकर्ता आकर्षित

blog

काठमाडौँ, चैत १० गते । यो वर्ष मुलुकमा सबैभन्दा धेरै साना उद्योगमा लगानीकर्ता आकर्षित भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिनामा (साउन/फागुन) २०४ वटा साना उद्योगदर्ता भएका छन् । 

दुई सय सङ्ख्यामा साना उद्योग दर्ता गर्ने वार्षिक लक्ष्य रहेकोमा आठ महिनामै लक्ष्यभन्दा बढी २०४ वटा साना उद्योग दर्ता भएका हुन् । चालु आवको बजेटमार्फत साना उद्योग दर्तामा सरकारले विभिन्न सुविधा व्यवस्था गरेकाले पनि ती उद्योग सञ्चालनका लागि लगानी गर्न आकर्षित भएका हुन् । 

साना उद्योग सञ्चालन गर्न कम लगानी लाग्ने भएकाले पनि उद्योगी त्यसतर्फ बढी आकर्षित भएको विभागको तथ्याङ्कले देखाएको छ । आठ महिनाको अवधिमा मझौला र ठुला उद्योग दर्ता सङ्ख्या भने न्यून रहेको विभागको तथ्याङ्क छ । वार्षिक ८० वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेको आठ महिनामा एउटा उद्योग मात्र दर्ता भएको छ । यस्तै ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा आठ महिनामा दुई वटा उद्योग मात्र दर्ता भएका छन् । घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले साना उद्योग दर्तामा विभिन्न सहुलियत छुट सुविधा भएकाले पनि साना उद्योग दर्ता गर्ने उद्योगीको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । साना उद्योग सञ्चालन गर्न कम खर्च लाग्ने भएकाले पनि धेरै दर्ता हुने गरेका छन, उहाँले भन्नुभयो, “कतिपय उद्योग सुविधा पाउनकै लागि दर्ता हुने र सञ्चालनमा नआउनेसमेत गर्छ ।”

बैङ्कले प्रिमियमसँगै ब्याजदर बढाएका कारण बैङ्कसँग उद्योगीले कारोबार नगरेकाले ठुलो र मझौला उद्योग दर्ता कम भएको उहाँको भनाइ छ । आर्थिक मन्दीका कारण उद्योग पूर्ण क्षमता सञ्चालन हुन नसकेको उद्योगीको भनाइ छ । हाल मुलुकभर सञ्चालनमा रहेको उद्योगमध्ये ३० प्रतिशतदेखि ४० प्रतिशत मात्र पूर्ण क्षमता सञ्चालन भएको सिंहको भनाइ छ । धेरै उद्योग दैनिक दुईदेखि तीन घन्टासम्म मात्र सञ्चालन हुने गरेको व्यवसायीको भनाइ छ । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग कम भई अधिकांश उद्योगले न्यून क्षमतामा सामान उत्पादन गर्ने गरेका छन् । 

चालु आवको आठ महिनामा एक खर्ब ५५ अर्ब रुपियाँ स्वदेशी लगानी प्रतिबद्धता आएको छ । २५८ वटा उद्योग मात्र सो लगानी प्रतिबद्धता आएको हो । ठुला उद्योग ३२ मझौला उद्योग २२ र सबैभन्दा धेरै साना उद्योग २०४ वटा दर्ता भएका छन् । चालु आवको फागुन महिनामा मात्र २२ उद्योग दर्ता भई दुई अर्ब ६८ करोड रुपियाँ प्रतिबद्धता आएको छ । 

विभागका अनुसार फागुनमै स्वदेशी लगानीका ठुला एक, मझौला दुई र साना १९ उद्योगमार्फत लगानी प्रतिबद्धता आएको हो । यी परियोजनाबाट एक हजार ३३४ जनाले रोजगारी पाउने बताइएको छ । फागुन महिनामा एउटा प्याटेन्ट र ६५३ ट्रेडमार्क दर्ता भएका छन् । विभागका अनुसार फागुनमै विभिन्न चार उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरिएको छ ।

विभागले चालु आवमा कुल ३८ अर्ब रुपियाँको विदेशी लगानी प्रतिबद्धता ल्याउने लक्ष्य लिएकोमा २९ अर्ब १३ करोड रुपियाँ प्रतिबद्धता आएको छ । फागुन महिना मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता माघ महिनाको तुलनामा उच्च हो ।