• ९ मंसिर २०८१, आइतबार

क्षयरोग बिरामीको उपचारमा सफलता दर ९२ प्रतिशत

blog

रोगको बारेमा जानकारी दिँदै राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.प्रज्वल श्रेष्ठ।

काठमाडौं, फागुन ८ गते । आर्थिक वर्ष २०७९/०८० मा ३७ हजार ४४७ क्षयरोगका बिरामी पत्ता लागेका छन् । 

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले आर्थिक वर्ष २०७९/८० मा ३७ हजार ४४७ क्षयरोगका बिरामी पत्ता लागेका जानकारी दिनुभयो । पत्ता लागेका बिरामी मध्ये तीन प्रतिशत बिरामीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो  । 

रोग पत्ता लागेका बिरामी मध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् । सङ्क्रमित बिरामी मध्ये ८ प्रतिशत १५ वर्ष मुनिका बालबालिका रहेका छन् । 

डा. श्रेष्ठका अनुसार बिरामी मध्ये ७२ प्रतिशत बिरामी फोक्सो सङ्क्रमित भएका छन् भने २८ प्रतिशत बिरामी फोक्सो बाहेक अन्य अङ्गमा क्षयरोग सङ्क्रमण भएको छ । 

पत्ता लागेका मध्ये सबैभन्दा बढी तराईमा छन् । तराईमा ६० प्रतिशत बिरामी छन् । प्रदेश अनुसार सबैभन्दा बढी बिरामी मधेश, बाग्मती, लुम्बिनी प्रदेशमा रहेका छन् । तीन प्रदेशबाट ६८ प्रतिशत बिरामी पत्ता लागेको उहाँको भनाइ छ ।  

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नेपालमा आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ७० हजार  क्षयरोगका बिरामी थपिनुका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो । नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा क्षयरोग उन्मुलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको उहाँले बताउनुभयो ।  

नेपालमा विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको देशमा पर्दछ । डब्लुएचओले २९ सय व्यक्ति औषधि प्रतिरोधी क्षयरोग विकास हुने अनुमान गरिएको छ । नेपालमा ६९३ जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी पत्ता लाएकोमा ५४६ बिरामी मात्र उपचारको दायरामा आएको श्रेष्ठले जानकारी दिनुभयो । 

पत्ता लागेका क्षयरोगका बिरामीको उपचार सफलता दर ९२.४ प्रतिशत रहेको डा. श्रेष्ठको भनाइ छ ।  त्यसैगरी, औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता दर ८२ प्रतिशत रहेको उहाँको भनाइ छ । 

 के हो क्षयरोग ?

 डा.श्रेष्ठका अनुसार क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने डा.श्रेष्ठले जानकारी दिनुभयो । 

 क्षयरोगीले खोक्दा, हाछ्यु गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने श्रेष्ठ बताउनुहुन्छ । 

कुपोषण भएका, धूम्रपान तथा सूर्तीजन्य प्रदार्थको सेवन,मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम रहेको उहाँको भनाइ छ ।  

तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राती ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन । 

सन् २०५० सम्म क्षयरोग उन्मुलन गर्ने 

क्षयरोगबाट ९० प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । अन्य अङ्गमा मुटुको बाहिरी झिल्ली,मासु,जोर्नी, मस्तिकमा पनि क्षयरोगले असर गर्ने उहाँ बताउनुहुन्छ । यो रोगले महिलाको डिम्बानलीमा असर गरेर बाझोपन निम्त्याउने डा. श्रेष्ठ बताउनुहुन्छ । 

सरकारले सन् २०३५ सम्म क्षयरोगको महामारी रूपमा अन्य गर्न र सन् २०५० सम्म प्रति १० लाख जनसङ्ख्यामा एक वा सोभन्दा कम बिरामी बनाएर क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको डा. श्रेष्ठको भनाइ छ ।  

उहाँ भन्नुहुन्छ, “राष्ट्रिय क्षय रोग रणनीतिक योजनाको कार्यान्वयन गरी नेपालले नयाँ क्षयरोग बिरामी दर र मृत्युदर  घटाउने सन् २०३५ सम्ममा क्षयरोगको  महामारीको अन्त्य गर्ने, सन् २०५० सम्ममा क्षयरोगको निवारण गर्ने र क्षयरोग निदान उपचार  लाग्ने अधिक आर्थिक व्याय भारलाई शून्यमा झार्ने विशेष लक्ष्य राखेको छ ।”  

लक्ष्य पुरा गर्ने उद्देश्यले १२५ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो । यो अभियान ७५३ स्थानीय तहमा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।