काठमाडौँ, जेठ १६ गते । सरकारले राष्ट्रिय सुरक्षा तथा अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र राष्ट्रिय हित रक्षाका लागि नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने बताउनुभएको छ।
राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरी आवश्यक सुरक्षा र प्रतिरक्षा सामग्री उत्पादनमा आत्मनिर्भर बनाउँदै लगिने घोषणा गरिएको छ। नेपाली सेनाको बङ्करदेखि ब्यारेक कार्यक्रम , मास क्याजुयल्टी ट्रिटमेन्ट सेन्टर निर्माण र शैक्षिक पूर्वाधार निर्माणलाई आवश्यक रकम उपलब्ध गराउने घोषणा बजेटमार्फत उल्लेख गरिएको छ।
त्यस्तै संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनार्थ नेपालको भूमिका बढाउने तथा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तामिल केन्द्रलाई सेन्टर फर एक्सिलेन्स अवधारणामा विकास गरिने भएको छ। त्यसका लागि रक्षा बजेटतर्फ ५७ अर्ब ३० करोड ४३ लाख रुपियाँ विनियोजन गरिएको छ।