• ८ मंसिर २०८१, शनिबार

पछिल्लो १४ दिनमा देशका दुई हजार बढी स्थानमा डढेलो

blog

काठमाडौं,वैशाख १२ गते । गर्मी याम सुरु भएसँगै देशभर डढेलो लाग्ने क्रम बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १४ दिनमा मात्र दुई हजार बढी स्थानमा डढेलो लागेको छ । 

प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माका अनुसार अन्य वर्षको तुलनामा यस पटक धेरै स्थानमा  डढेलो लागेको छ । २७ वर्ष नेपालका जङ्गलमा लागेको डढेलोको अध्ययन गर्नुभएका शर्माले अन्य वर्षको तुलनामा यस वर्ष डढेको सङ्ख्या बढी देखिएको बताउनुभयो । एकै दिन एक हजार स्थानमा डढेलो लागेको तथ्याङ्क रहेको उहाँले बताइनुभयो । 

उहाँले भन्नुभयो, “यसपालि गत वर्षको तुलनामा बढी डढेलो लागेको छ  । केही दिनअघि  देशभर २४ घण्टामै एक हजार बढी स्थानमा डढेलो लागेको रेकर्ड पनि छ । यो ज्यादै चिन्ताको विषय हो ।” सन् २०२३ मा हालसम्म दुई हजार ३६ स्थानमा डढेलो लागिसकेको छ । गत वर्ष देशभर एक हजार ५२८ स्थानका जङ्गलमा डढेलो लागेको थियो । सन् २०२१ मा यो सङ्ख्या एक हजार २११ थियो । सन् २०१९ मा यो सङ्ख्या दुई हजार ९९० थियो । 

यस वर्ष डढेलो लाग्ने पिक समय आउन बाँकी नै रहेकाले डढेलोको सङ्ख्या अझ बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस वर्ष १४ दिनमा नै दुई हजार बढी स्थानमा डढेलो लागिसकेको छ । अझै डढेलो लाग्ने पिक समय वैशाख र जेठ बाँकी नै रहेकाले डढेलोको सङ्ख्या अझ बढ्ने देखिएको छ ।” 

डढेलो सम्बन्धी २७ वर्ष लामो आफ्नो अध्ययनमा यस्तो अवस्था अन्य कुनै वर्षमा नआएको उहाँ बताउनुहुन्छ । केही दिनअघि मात्र वायु प्रदूषण मापन गर्ने स्विट्जरल्याण्डको आइक्यु एयरको तथ्याङ्कले काठमाडौँ सहर विश्वमै बढी प्रदूषित सहरको सूचिमा राखेको थियो । वायु प्रदूषणको प्रमुख कारण पनि देशभर लागेको डढेलोलाई लिइएका थियो । 

देशभरका जङ्गलमा लागेको डढेलोको अवस्था हेर्दा सबैभन्दा बढी तराई क्षेत्रमा लागेको छ । भने पहाडमा तराइको तुलनामा कम देखिएको छ ।  हिमाली क्षेत्रमा न्यून सङ्ख्यामा रहेको छ  । डढेलो नियन्त्रणमा नेपालमा पर्याप्त अग्नि नियन्त्रक यन्त्र नभएका कारण पनि डढेलोलाई समयमै नियन्त्रण गर्न नसकिएको शर्माको भनाइ छ । 

उहाँले भन्नुभयो, “नेपालमा पर्याप्त  अग्नि नियन्त्रक यन्त्रको अभाव रहेको छ । त्यसकारण पनि समयमै डढलो नियन्त्रण गर्न सकिएको छैन । डढेलो नियन्त्रणमा लिन प्रहरी, सेना तथा स्थानीयको नै भर पर्नुपर्ने अवस्था छ ।” डढेलो नियन्त्रणका लागि नेपालमा जनशक्ति र स्रोत साधन पनि नभएको शर्माले बताउनुभयो । डढेलो नियन्त्रणमा स्थानीयलाई मात्र प्रयोगमा ल्याउनु ज्यानको जोखिममा पार्नु मात्र भएको उहाँको दाबी छ । 

सबैभन्दा प्रमुख कुरा त नेपालमा डढेलोबारे खटिने निकाय नै छैन। अहिले यति धेरै डढेलो लागेको छ, यसको जिम्मेवारी लिने निकाय कुनै छैन,’ शर्माले भन्नुभयो “डढेलोसम्बन्धीमा  काम गर्ने शाखा, महाशाखा जे भए पनि छुट्टै निकाय चाहिन्छ।”

डढेलो नियन्त्रणबारे सरकार र सांसदहरूको उदासीनता उदेकलाग्दो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले यस्तो कुरा अरूले भनेर सुन्दैन। सांसदहरूले संसदमा आवाज उठाए सुन्थ्यो  कि,,‘तर संसदमा पनि एक जना सांसदले यसबारे बोलेको सुनिँदैन।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।