• ९ असार २०८१, आइतबार

७५ प्रतिशत सकियो ग्वार्को फ्लाइओभरको काम

blog

ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर ।

काठमाडौं, जेठ ३१ गते । ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७५ प्रतिशत सम्पन्न भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यका अनुसार यस आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत सम्पन्न भएको हो ।  

बाँकी २५ प्रतिशत काम असार महिनाभरमा सकेर साउन महिनाभित्र सडकमा गाडी कुदाउन मिल्ने बनाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म ग्वार्को फ्लाइओभरको काम ७५ प्रतिशत सम्पन्न भएको छ । बाँकी २५ प्रतिशत काम असार महिनामा सकेर साउन महिनाबाट सो सडकमा सवारी गुडाउन मिल्ने बनाइनेछ ।”

बाँकी २५ प्रतिशत काम असार महिनामा सकेर साउन महिनाबाट सो सडकमा सवारी गुडाउन मिल्ने बनाइनेछ ।

उहाँका अनुसार जमिनदेखि पुलसम्म पुग्न बनाइने स्वल्याबको काम सकिएको छ । त्यसको पिच गर्ने काम पनि लगभग सकिएको उहाँको भनाइ छ । अहिले आर्किवाल निर्माणको काम जारी रहेको उहाँको भनाइ छ । यस्तै, पुलको ढलान गर्ने काम भने बाँकी रहेको छ । 

उहाँले भन्नुभयो, “जमिनदेखि पुलसम्मको स्लोप निर्माणको काम सकिएको छ । पिच पनि लगभग सकिएको छ । अहिले आर्किवाल निर्माणको काम चलिरहेको छ । पुलको ढलान गर्ने काम पनि बाँकी छ ।” वर्षा लागे पनि पुल ढलान गर्न समस्या हुने भएकाले सक्दो चाँडो ढलानको काम सक्ने योजना रहेको उहाँले बताउनुभयो । 

अहिले कोटेश्वर र सातदोबाटोतर्फको साइड र्‍याम राख्ने काम जारी रहेको शाक्यले बताउनुभयो । र्‍याम बाँध्ने काम ७८ प्रतिशत सकिएको छ । र्‍यामको काम ८ दिनमा सकेर पुल ढलानको काम सुरु हुने प्रमुख शाक्यले बताउनुभयो । ६० जना कामदारले दैनिक १६ घण्टाका दरले काम गरिरहेको उहाँको भनाइ छ । 

आयोजनाको काम फागुनमा सकिनुपर्ने भए पनि डिजाइनमा भएको परिवर्तनका कारण काम तोकिएको समयमा सम्पन्न हुन सकेन ।

कस्तो बन्दैछ फ्लाइओभर

जमिनले भार थेग्न नसक्ने भएर जमिनको क्षमता नै सुधार गरेर बलियो बनाउने काम भने सकिएको छ । जसका लागि जमिनमुनि चार हजार १०२ वटा पायल राखिएको छ । यो आयोजनाको ठेक्का इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको हो । इपिसी मोडल भनेको ठेकेदार आफैँले डिजाइन गर्ने उसैले निर्माण गर्नुपर्ने मोडल हो । 

ओभरपासको डिजाइनमा त्रुटि हुँदा केही समय मुख्य निर्माणको काम रोकिएको थियो । ओभरपास निर्माण स्थलको माटो कमजोर भएका कारण पिलरको फाउन्डेसन (जग) जमिनमुनि ३४ मिटर गाड्नुपर्ने थियो । 

३४ मिटर तल गाड्नलाई जमिनमुनि केसिङ (ढलान गर्दा राख्ने फर्मा जस्तो) राख्नुपर्नेमा त्यस्तो केसिङ राख्नका लागि आवश्यक उपकरण नेपालदेखि भारतसम्म पनि नपाइएकाले अनुकूल हुनेगरी डिजाइन परिवर्तन गरिएको उहाँको भनाइ छ । 

यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो । यसमा पिलर प्रयोग हुँदैन । स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहनेछ । 

ग्वार्को चोकबाट पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ । त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले बताउनुभयो ।

यसबिचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ । यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो । स्लोपको चौडा १६ मिटर रहन्छ । ओभरपास चार लेनकै रहन्छ । बिचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहनेछन् । 

यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो । यसमा पिलर प्रयोग हुँदैन । स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाउने र ओभरहेड ब्रिज रहनेछ । 

ग्वार्को फ्लाइओभरको काम २०७९ मङ्सिर १६ गतेदेखि निर्माण सुरु गरिएको हो । निर्माण सुरु भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य थियो । निर्माणको जिम्मा आशिष् समानान्तर रेलिगेयर जेभीले पाएको छ । यो ओभरपास १७ करोड ६ लाख रुपियाँमा ठेक्का लागेको थियो । निर्माण सकिएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ । निर्माणको रकम भने ३५ प्रतिशत मात्र भुक्तानी भएको उहाँको भनाइ छ ।  

एउटा भाग पूरा भएपछि मात्र त्यस बापतको भुक्तानी गर्नुपर्ने भएका कारण भुक्तानी प्रक्रिया ढिला भएको उहाँको भनाइ छ । पुलको ढलान सकिएपछि धेरै भुक्तानी हुने उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।