• ९ असार २०८१, आइतबार

‘निजी क्षेत्रको मनोबल बढ्ने गरी बजेट आउनुपर्छ’

blog

काठमाडौं, जेठ ५ गते । सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८१–८२ को बजेट संसदमा प्रस्तुत गर्ने तयारी थालेको छ । अहिले अर्थ मन्त्रालयमा बजेट लेखनको काम भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरिसकेको छ ।  

सङ्घीय संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यही नीति तथा कार्यक्रमको आधारमा आगामी जेठ १५ गते सरकारले संसदमा बजेट प्रस्तुत गर्नेछ । सरकारले आगामी आर्थिक वर्षमा दिगो आर्थिक वृद्धि हासिल गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थविद्ले निजी क्षेत्रको मनोबल बढ्नेगरी बजेट ल्याउनुपर्ने बताउनुभएको छ । 

नेपालको अर्थतन्त्र रेमिट्यान्समा मात्र सीमित भएको छ । उत्पादन बढी र निर्यात प्रवर्धन गर्ने खालका कार्यक्रममा बजेट केन्द्रित हुनुपर्छ ।

पूर्व अर्थसचिव डा. कृष्णहरी बास्कोटाले अहिले देशको अर्थतन्त्र सङ्कुचनमा रहेकाले निजी क्षेत्र विश्वस्त हुनेगरी बजेट ल्याउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रमा केही सङ्कुचनको अवस्था देखा परेको छ ।यसलाई चिर्न निजी क्षेत्रको मनोबल बढ्नेगरी बजेट ल्याउनु आवश्यक रहेको छ ।”

हालसालै लगानी सम्मेलन सम्पन्न भएकाले आन्तरिक लगानी र बाह्य लगानीको वातावरण निर्माण हुनेगरी बजेट निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । नेपालको अर्थतन्त्र रेमिट्यान्समा मात्र सीमित भएकाले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात प्रवर्धन गर्ने खालका कार्यक्रमहरू ल्याउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्र रेमिट्यान्समा मात्र सीमित भएको छ । उत्पादन बढी र निर्यात प्रवर्धन गर्ने खालका कार्यक्रममा बजेट केन्द्रित हुनुपर्छ ।’’  नेपाली बजारमा अन्तर्राष्ट्रिय उपस्थिति नभएको हुनाले यसको सुनिश्चितता गर्न बजेटले सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । 

नेपालको सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र जलविद्युत भएकाले यसतर्फ लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।  गत वर्षको बजेटको तुलनामा यस वर्षको बजेटको आकार केही बढाउनुपर्ने आवश्यकता रहेको उहाँको सुझाव छ । 

विगतमा ठुला परियोजनामा गरेको लगानीको प्रतिफल नै आउन सकेको छैन । त्यस्ता परियोजनाबाट पाएको धोकाबाट सिकेर बजेट बनाउनुपर्छ ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले यस वर्षको बजेट उत्पादन र सेवा प्रवाहको क्षेत्रमा टेवा पुग्नेगरी बजेट आउनुपर्ने बताउनुभयो । विगतका वर्षमा ठुला परियोजनामा गरेको लगानीको प्रतिफल नआएकाले आगामी वर्षमा प्रतिफल आउने खालका परियोजनामा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । यस वर्ष त्यस्ता परियोजनाबाट पाएको धोकाबाट सिकेर बजेट बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विगतमा ठुला परियोजनामा गरेको लगानीको प्रतिफल नै आउन सकेको छैन । त्यस्ता परियोजनाबाट पाएको धोकाबाट सिकेर बजेट बनाउनुपर्छ ।’’ आगामी आर्थिक वर्षको बजेट सबै घरपरिवारलाई छुने खालको हुनुपर्ने उहाँको भनाइ छ । 

तीन–चार रोपनी जग्गा भएको व्यक्तिले पनि आफ्नो जीविकोपार्जन गर्न सक्ने आधार निर्माण गर्नसक्ने बजेट निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक कार्यक्रममा आगामी वर्षमा १९ खर्ब हाराहारीको बजेट ल्याउन लागिएको बताउनुभएको थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।