• ८ मंसिर २०८१, शनिबार

किसानलाई मल र उम्मेदवारलाई मतको चिन्ता

blog

काठमाडौँ, कात्तिक १८ गते । काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका–८, धाईटारका मुरलीप्रसाद पौडेललाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनअगावै खेतमा आलु रोप्ने चिन्ता छ । वर्षभरिको खर्चको जोहो हुने आलु खेतीका लागि आवश्यक रासायनिक मल नपाउँदा पौडेलको ध्यान निर्वाचनमा जान सकेको छैन । उहाँ गाउँमा उम्मेदवार कहिले आउलान् र रासायनिक मल उपलब्ध गराउने भनेर प्रश्न सोध्न उम्मेदवार कुरेर बस्नुभएको छ । 

“२० बोरा बीउको आलु कोल्डस्टोरमा राखेको छु, मल पाउने नपाउने अत्तोपत्तो छैन । खेत जोतेर ठिक्क पारे पनि आलु रोप्ने नरोप्ने अन्योल कायमै छ,” उहाँले भन्नुभयो, “मङ्सिर दोस्रो सातासम्म आलु रोपिएन भने राम्रो उत्पादन हुँदैन, आफूसँग एक बोरा पनि रासायनिक मल छैन । मजस्ता हजारौँ किसान यति बेला रासायनिक मल कुरिरहेका छौँ ।” पाँचखाल काफ्लेडिहीका किसान ज्ञानबहादुर थापाले रासायनिक मलको जोहो गर्न भन्दै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय धाएको तीन महिना भइसक्यो । सयौँ किसानको हस्ताक्षर बोकेर रासायनिक मल पाउने माग राख्दै पाँचखाल नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि मल पाउने सम्भावना क्षीण हुँदै गएको उहाँ बताउनुहुन्छ । 

काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा यति बेला आलु खेतीको समय भए पनि रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । सबैभन्दा हतारोमा भने मन्डनदेउपुर र पाँचखालका किसान छन् । अहिले छिटो आलु रोपिएन भने चैतमा धान र तरकारी लगाउन नपाइने भएकाले सो क्षेत्रका किसानलाई मलको आवश्यकता धेरै नै छ । 

पनौती कुशादेवीका सन्तोष न्यौपानेले खेती गरेर खान्छु भन्दा पनि रासायनिक मल नपाएको सुनाउँदै उम्मेदवारसँग ‘मल दिनूस्, मत लिनूस्’ भन्ने अभियान नै सञ्चालन गर्ने समय आएको बताउनुभयो । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा आफ्नो मुद्दा बोकेर गाउँ गएका उम्मेदवारसँग किसानले मलसँग मत साट्ने बताए । उम्मेदवारले भने हामीलाई मात्रै भन्ने भनेर प्रतिक्रिया दिएको पाँचखालका थापाले बताउनुभयो । गठबन्धनका उम्मेदवारसँगै नेकपा (एमाले), स्वतन्त्र उम्मेदवारसँग किसानले रासायनिक मल मागेका छन् तर कुनै पनि उम्मेदवारले यो सिजनमा मल ल्याउन सक्ने आधार पेस गर्न सकेका छैनन् । उम्मेदवारले भने आफूलाई मात्रै भन्ने भन्दै किसानलाई अरू उम्मेदवारसँग पनि मलको माग राख्न थालेका छन् । 

तत्कालका लागि पाँचखाल र मन्डनदेउपुर नगरपालिकामा ५० हजार बोरा डीएपी मल आवश्यक छ । त्यसमध्ये पाँचखालमा मात्रै ३० हजार बोरा मल आवश्यक छ । कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलका शाखा प्रबन्धक वासुदेव शर्माले आफूहरूसँग रहेको मलको मौज्दातका आधारमा वितरण गर्ने तयारी थालेको र पाँचखाललाई ११ सय बोरा मलको कोटा परेको बताउनुभयो । 

सुरु भयो मलको कालोबजारी 

सरकारी संयन्त्रबाट मल नआए पनि पाँचखालमा एक बोरा मलको एक हजार रुपियाँदेखि एक हजार पाँच सय रुपियाँ धेरै मूल्य लिएर बिक्री हुन थालेको ज्ञानबहादुर थापाले गुनासो गर्नुभयो । पाँचखालमा चोरबाटो हुँदै आएको डीएपी मल धेरै मूल्यमा बिक्री हुन थालेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले दुई हजार ३७० रुपियाँमा मल बिक्री गर्ने भए पनि चोरबाटो हुँदै आएको मललाई किसानले तीन हजार पाँच सयदेखि चार हजार रुपियाँसम्म तिरेका छन् ।