• १५ कात्तिक २०८२, शनिबार

राँके–रवि सडक खण्डमा पहिरो

blog

मध्यपहाडी राजमार्गको रिजाल भिरमा गएको पहिरो ।

राधा लुइटेल

फिदिम, कात्तिक १४ गते । न्युन चापीय प्रणाली मोन्था चक्रवातको प्रभावका कारण तीन दिनदेखि जारी वर्षाका कारण आएको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पाँचथर खण्ड सञ्चालनमा आएको छ ।

यो राजमार्गको पाँचथर खण्डस्थित याङवरक गाउँपालिका –३ रिजाल भीरममा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिष कर्णले बताउनुभयो ।

उहाँका अनुसार विहीबार रातिदेखि अवरुद्ध सडक शुक्रवार साँझ साढे ५ वजेदेखि सञ्चालनमा ल्याइएको हो । यद्यपि वर्षा जारी रहेकाले पहिरो झर्ने जोखिम यथावत रहेको प्रहरीले जनाएको छ ।

यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका –७ ऐनेभिरमा गएको पहिरोका कारण राँके–रवि–भेडेटार सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

माथिबाट पहिरो खस्दा सडकको आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । वर्षाका कारण अन्य ग्रामीण सडकहरू समेत प्रभावित बनेका छन् ।

निरन्तरको झरीसँगै ठाउँ ठाउँमा पहिरोको जोखिम बढेको भन्दै तत्काल यात्रा तय नगर्न स्थानीयलाई जिल्ला प्रशासन पाँचथरले जनाएको छ ।