सिराज खान
नेपालगन्ज, कात्तिक १४ गते । भेरी अस्पताल नेपालगन्जले मिर्गौलापीडितका लागि थप चार वटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि बिरामीहरुलाई डायलाइसिसका लागि लामो समय पालो कुर्नुपर्ने समस्याबाट राहत मिलेको छ ।
नेपालगन्ज र आसपासका जिल्लाबाट दैनिक रूपमा आउने मिर्गौलापीडित बिरामीहरुको चाप बढ्दैजाँदा उपचारका लागि पालो पर्खनु पर्ने समस्या भइरहेको बेला अस्पतालमा डायलाइसिस मेसिन थपिंदा मिर्गौला रोगीहरुलाई ठुलो राहत मिलेको हो ।
यसअघि अस्पतालमा रहेका ६ वटा मेसिनमार्फत तीनवटा सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुँदैआएको थियो । अब कुल १० वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक ३० जना बिरामीले सेवा लिन थालेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो ।
उहाँले मेसिन थप भएपछि डायलाइसिस सेवामा देखिएको भिड र पालो कुर्नुपर्ने समस्या धेरै घटेको बताउनुभयोे । मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले भन्नुभयो– ‘बिरामीहरुले दिनौंदिन पालो पर्खनु पथ्र्यो । अहिले थप मेसिनले बिरामीलाई राहत दिएको छ । जसले धेरै जनाको समयमै उपचार सम्भव भएको छ । डायलाइसिसका लागि पालो नपाउँदा कतिपय बिरामीहरु महँगो रकम तिरेर निजी अस्पतालबाट सेवा लिन बाध्य थिए ।’
कोभिड महामारीको समयमा सञ्चालन गरिएको पुरानो आइसीयूलाई नयाँ भवनमा सारिएको र सोहीे ठाउँलाई प्रयोग गरी डायलाइसिस सेवा विस्तार गरिएको डा. सुवेदीले बताउनुभयो ।
चारवटा डायलाइसिस मेसिन थपिँदा भेरी अस्पताल प्रदेशमै मिर्गौला उपचारका लागि उत्कृष्ट अस्पताल बनेको जनाउँदै भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले यसबाट बाँकेका मात्र नभएर बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका बिरामीलाई राहत मिलेको बताउनुभयो ।
अस्पतालले थप चारवटा मेसिन सञ्चालनमा ल्याएसँगै मिर्गौलारोगीको दैनिक उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालले बताउनुभयो ।
डायलाइसिस विभागका पुराना बेडहरुको पनि मर्मत र सुधार गरेर सेवा गुणस्तरमा थप सुधार ल्याईएको जनाउँदै अस्पतालले डायलाइसिस वार्ड विस्तारसँगै एनआइसीयू (नवजात शिशु गहन उपचार इकाई) का बेडहरु पनि व्यवस्थित गरिएको अस्पतालका अधिकारीको भनाइ छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                