अस्मिता पोखरेल
धादिङबेंसी, कात्तिक १३ गते । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारका आठ जना अपाङ्गता भएकाहरूलाई विद्युतीय ह्विलचियर प्रदान गरिएको छ ।
धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टकबहादुर रुवालीको समन्वयमा उक्त सहयोग प्रदान गरिएको हो । पूर्ण अपाङ्गता भएका र घरमै बस्न बाध्य नागरिकहरूलाई सहज गतिशीलता उपलब्ध गराउने उद्देश्यले ह्विलचियर वितरण गरिएको धादिङ नेपाली समाज अमेरिका अध्यक्ष रुवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विदेशमा रहेका नेपाली समुदायले संकलन गरेको सहयोग रकममार्फत आधुनिक रिचार्जेबल ह्विलचियर उपलब्ध गराइएको छ । विद्युतीय ह्विलचियर एकपटक चार्ज गरेपछि १५ किलोमिटरसम्म सञ्चालन गर्न सकिने र प्रयोगकर्ताले बिना सहायताको स्वतन्त्र रूपमा चलाउन सक्ने बताइएको छ ।
सहयोग पाउनेमध्ये लुरे विक, अम्बिका रिजाल, अन्जन श्रेष्ठ, कुन्जेमाईला दरै, टिकानिधि बसौला, कुम्भ कुमारी गिरी, र अमृता कुमाल रहनुभएको छ । यसअघि रामबहादुर पाण्डेलाई पनि सोही कार्यक्रमअन्तर्गत ह्विलचियर वितरण गरिएको थियो ।
ह्विलचियर प्राप्त गर्नुभएको अमृता कुमालले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो दैनिक जीवन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब म सहज रूपमा वरपरका छरछिमेक र आफन्तकहाँ जान सक्ने भएकी छु ।”
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सहयोगी दाताहरू तथा धादिङ नेपाली समाज अमेरिकाप्रति आभार व्यक्त गर्नुभयो ।
व्यक्तिगत स्तरबाट आठ वटा आधुनिक विद्युतीय ह्विलचियर वितरण धादिङमा पहिलो पटक गरिएको हो । समाजसेवी तथा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष रुवालीले पठाउनु भएको शुभकामना कार्यक्रम सञ्चालक, पत्रकार तथा अन्तर्राष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापाले वाचन गर्नुभएको थियो ।