काठमाडौँ, असोज २१ गते । मानिसले आफ्नो स्वास्थ्यको नियमित जाँच गरे जस्तै आफूले दैनिक रूपमा उपभोग गर्ने खाद्यान्न, तरकारी बाली उमार्ने माटोको स्वास्थ्यमा पनि ध्यान दिन त्यस क्षेत्रका अगुवाले अनुरोध गरेका छन् । “माटोको स्वास्थ्य जाँच्ने प्रमुख आधार माटोको परीक्षण हो,” लामो समयदेखि माटोको अध्ययनमा क्रियाशील वरिष्ठ माटोविज्ञ डा. जनार्दन खड्का भन्नुहुन्छ ।
माटो परीक्षणले मुख्यतः बिरुवालाई चाहिने पोषक तत्व प्रदान गर्ने माटोको क्षमतालाई मात्र केन्द्रित गर्ने उहाँले बताउनुभयो । माटोको गुणस्तरलाई माटोको भौतिक, रासायनिक र सूक्ष्म जीवविज्ञानका गुणहरूको अन्तर्क्रियाले निर्धारण गर्छ । माटोमा अन्तर्निहित क्षमतालाई समायोजन गर्ने हो भने यी गुणलाई किसानले व्यवस्थित गर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।
मानिसको स्वास्थ्य जस्तै माटोको स्वस्थताको पनि जाँच गर्न सकिने भएकाले किसानले समय समयमा माटोको स्वास्थ्यको ख्याल गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । एउटा स्वस्थ मानिसका स्वास्थ्य सूचक तापमान, रक्तचाप, धड्कनको दर भए जस्तै माटोको स्वास्थ्य मापन गर्ने पनि धेरै सूचक रहने उहाँले बताउनुभयो । मानिसले निरन्तर जानेर वा नजानेर माटोलाई अस्वस्थ बनाइरहेकाले त्यसतर्फ ध्यान पु¥याउन आवश्यक हुने
उहाँले बताउनुभयो ।
आँखाले हेरेरै पनि माटोको स्वस्थता जाँच्न सकिन्छ । त्यसबारे हेर्न अन्य वैज्ञानिक आधार पनि छन् । माटोबारे लामो समयदेखि अध्ययन गरिरहेका कृषि प्रचार अधिकृत कृष्ण धितालका अनुसार माटोको स्वस्थताबारे जानकारी पाउने धेरै सूचक छन् । माटोको जैविक, रासायनिक र भौतिक गुणबिचको सम्बन्धमा माटोको स्वास्थ्य निर्भर रहन्छ । स्वस्थ माटोले मात्रै स्वस्थ उत्पादन दिन सक्छ ।
लामो समयदेखि अर्गानिक उत्पादनमा जोड दिइरहेका वरिष्ठ कृषि प्रचार अधिकृत दीपक पौडेल भन्नुहुन्छ, “मानव स्वास्थ्यको स्थिति जनाउन अत्यावश्यक सङ्केतहरू प्रयोग गरे जस्तै माटोको अवस्था स्वस्थ भए/नभएको पत्ता लगाउन स्वास्थ्य सूचक विकास गरिएको छ ।”
जसरी रुघाखोकी लाग्नु फ्लुको सूचक हुन सक्छ, त्यसरी नै सुक्खा र पटपटी फुटेको देखिने माटो पानीको मात्रा वा सङ्कलन कम हुनाले अस्वस्थ माटोको सङ्केत हुन सक्छ । यस्ता धेरै सङ्केतलाई माटोको स्वस्थताको सूचकका रूपमा प्रयोग गरिँदै आएको छ ।
माटोको स्वास्थ्य मापन गर्ने कुनै पनि स्वीकृत, मानकीकृत तरिका भने छैन र यी सूचकले सधैँ एक रूप परिणाम प्रदान पनि गर्दैनन् । यद्यपि वैज्ञानिकले माटोको स्वास्थ्य मापन बुझ्न र सुधार गर्न आफ्नो प्रयास निरन्तर गरिरहेकै छन् । नेपालमा त्यस अनुसार काम हुन सकेको छैन र आधुनिक खेती प्रणालीको नाममा माटोको स्वास्थ्य ह्रास गर्ने काम भइरहेको छ ।
माटो परीक्षणका लागि प्रदेश सरकारले माटो प्रयोगशाला घुम्ती बसमार्फत सेवा सुरु गरेपछि माटोको स्वास्थ्यबारे कृषक नै जागरुक हुन थालेका छन् ।
२०५० सालबाट नै नेपालमा तत्कालीन पाँच विकास क्षेत्रमा स्थापना भएका क्षेत्रीय माटो प्रयोगशालाबाट माटोको परीक्षण सुरु भएको थियो । त्यतिबेला जिल्ला कृषि विकास कार्यालयले माटो सङ्कलन गरेर क्षेत्रीयपन माटो प्रयोगशालामा माटोका नमुना परीक्षणका रूपमा पठाउने गरिएको थियो तर घुम्ती प्रयोगशाला सञ्चालन नहुँदा किसानसम्म त्यसको प्रभावकारिता पुग्न सकेको थिएन ।
तरकारीको पकेट क्षेत्रमा लगातार बाली लगाउँदा माटोको गुणस्तरमा क्रमिक रूपमा गिरावट आउन थालेको छ । नेपालमा ६६ प्रतिशत माटोमा अम्लीयपन देखिएको छ भने बागमती प्रदेशमा ८० प्रतिशत माटोमा अम्लीयपन देखिएको वरिष्ठ माटो विज्ञ डा. खड्काले बताउनुभयो ।
परीक्षणको तथ्यबाट डराउने अवस्था नभए पनि सचेत हुन र माटोको गुणस्तर बढाउन आवश्यक देखिएको छ । देशव्यापी माटो जचाउने किसानको सङ्ख्या बढेसँगै त्यसमा अम्लीयपनको मात्रा बढेको तथ्य बाहिर आएपछि अम्लीय र क्षारीयपन भएको माटोको गुणस्तर बढाउन आवश्यक हुने खड्काले उल्लेख गर्नुभयो ।
हामीले माटोको जैविक पदार्थ र बाली उत्पादनका लागि गुणस्तर थाहा पाउनु छ भने माटोको पोषक तìवको स्थिति मापन गरेर माटोको गुणस्तर निर्धारण गर्न सकिन्छ ।