• २ चैत २०८२, सोमबार

कुखुरामा देखियो ‘फ्लु’

blog

काठमाडौँ, चैत २ गते । नेपालमा पछिल्लो समय विराटनगर, चितवन तथा काठमाडौँका केही पोल्ट्री फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आइतबार सूचना जारी गर्दै विराटनगर, चितवन तथा काठमाडौँका  पोल्ट्री फार्मका कुखुरामा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । 

पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले यो भनेको बर्डफ्लुकै एक अवस्था रहेको र कुखुराको मर्ने दर कम हुने र मानिसमा नसर्ने उल्लेख गर्नुभयो । 

विभागले जारी गरेको सूचनामा विगतको भन्दा कुखुराको मर्ने दर धेरै देखिएकाले सचेत रहन आवश्यक रहेको उल्लेख गर्नुभयो । फ्लुको सङ्क्रमण देखिएको पशुसेवा विभागले पुष्टि गरेको छ । 

नेपालका विभिन्न स्थानमा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण देखिएपछि पशुसेवा विभागले किसानलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।  विभागले सूचना जारी गर्दै नेपालका विभिन्न स्थानमा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको उल्लेख गरेको छ । 

विभागका महानिर्देशक डा. उमेश दाहालले विराटनगर, चितवन तथा काठमाडौँका कुखुरामा फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको उल्लेख गर्नुभयो । सो स्थानका  व्यावसायिक तथा घरपालुवा पन्छीमा सो सङ्क्रमण देखिएकाले किसानलाई सचेत रहन विभागले अनुरोध गरेको उहाँले उल्लेख गर्नुभयो । 

“विराटनगर, चितवन, काठमाडौँआसपासका कम्तीमा ८०–९० फार्ममा देखिएको छ,” उहाँले भन्नुभयो, “यसले मानिसलाई कुनै असर नगर्ने र विगतको सङ्क्रमणभन्दा कुखुरा मर्ने दर उच्च रहेकाले किसानलाई सचेत गराएको छौँ ।” 

यो रोग विशेष गरेर सङ्क्रमित कुखुरा तथा पन्छीसँग प्रत्यक्ष सम्पर्क, सङ्क्रमित पन्छी तथा पन्छीजन्य सामग्रीको ओसारपसार, दाना तथा कुखुराको ढुवानी गर्ने सवारीसाधन, साथै श्वासप्रश्वासको माध्यमबाट सजिलो सर्ने भएकाले उच्च सतर्कता अपनाउन आवश्यक हुने विभागले जनाएको छ । 

पछिल्लो समय यो रोगका कारणले कुखुरा मर्न थालेको र सङ्क्रमण पनि बढेकाले सचेत हुन आवश्यक रहेको विभागले जनाएको छ । विभागले कुखुराको फार्ममा अनावश्यक सवारी र आगन्तुक लिएर नजान, कुखुरा वा दाना बोक्ने गाडीलाई फार्मपरिसरमा प्रवेश नगराउन र प्रवेश गराउनै परेमा निसङ्क्रमण गरेर मात्र भित्र पसाउन अनुरोध गरेको छ । खोरमा जाँदा फरक फरक बुट र एप्रोनको प्रयोग गर्न, फार्ममा कुकुर, बिरालो र मुसो छिर्न नदिने व्यवस्थापन गर्न, मरेको कुखुरालाई तत्कालै गहिरो खाडलमा पुर्न, रोग सर्न सक्ने भएकाले एक फार्ममा काम गर्ने व्यक्ति अर्काे फार्ममा सकेसम्म नजान विभागले अनुरोध गरेको छ । 

एक पटक प्रयोग भएको कागजको अन्डाको क्रेट प्रयोग नगर्न, लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाविरुद्ध गुणस्तरीय खोप लगाउन र किसानले अनिवार्य बिमा गर्न अनुरोध गरेको छ । विभागले एकै पटक धेरै कुखुरा बिरामी परेमा वा मरेमा तत्कालै नजिकैका पशुसेवाका निकायमा खबर गर्न अनुरोध गरेको छ ।  

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।