• २८ वैशाख २०८३, सोमबार

बिहान उठ्नासाथ आकाशतिर आँखा

blog

बाढीले बगाएको बिपी राजमार्गको सडक ।फाइल तस्बिर

काठमाडौँ, वैशाख २८ गते  । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीको बिहानको पहिलो उज्यालोसँगै हेराइ आकाशतर्फ पुग्छ । लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकसँग उहाँले मौसमको जानकारी लिनुहुन्छ । दिउँसो कार्यालयको व्यस्तता होस् वा राति विश्रामको समय, मोबाइलमा आउने मौसमसम्बन्धी सूचना हेर्न उहाँ छुटाउनुहुन्न । जिल्लाको कुन क्षेत्रमा कति वर्षा भयो, कहाँ खोलाको सतह बढ्दै छ, कहाँ पहिरो खस्ने सम्भावना छ भन्ने विषयमा उहाँ घन्टैपिच्छे जानकारी लिइरहनु हुन्छ । उहाँको कार्यालयमा हजारौँ यात्रु र सयौँ सवारीचालकले सडकको बारेमा जानकारी माग्ने भएकाले उहाँ नियमित रूपमा मौसमको जानकारी लिने र दिने कार्यमा व्यस्त हुनुहुन्छ । 

मौसम पूर्वानुमान महाशाखासँग दिनको दुई पटकसम्म प्रत्यक्ष सम्पर्क गर्ने उहाँको बानी बनेको छ । मौसमविद्सँग वर्षाको सम्भावित मात्रा, खोलानालाको अवस्था तथा आगामी केही घण्टाको जोखिमबारे जानकारी लिएपछि मातहतका प्रहरी एकाइलाई तुरुन्त निर्देशन जाने गरेको छ । प्रजिअ मात्रै हैन, जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरू आकाश कालो हुन थाल्यो भने चिन्तामा पर्नुहुन्छ । पटक पटक आकाशतिर हेरेर जिल्लाभरि मौसमको जानकारी लिने कार्यमा प्रमुख र अरू प्रहरी खटिने गर्नुभएको छ । 

“मौसम कतिबेला बदलिन्छ थाहा हुँदैन, वर्षासँगै आउने बाढी, पहिरो र सडक अवरोधले यात्रु अलपत्र पर्ने तथा मानवीय क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रसँग निरन्तर संवादमा हुन्छौँ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डिएसपी रविन विष्टले भन्नुभयो ।

बिपी राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा पर्ने प्रहरी चौकीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ भने जोखिमयुक्त क्षेत्रमा गस्तीसमेत बढाइएको छ । त्यसमा सशस्त्र प्रहरी र नेपाली सेनाको विपत् व्यवस्थापन टिमसँग निरन्तर संवादमा प्रहरी लागेको उहाँले विष्टले बताउनुभयो । मनसुन नआउँदै काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाका सुरक्षा निकाय यतिबेला उच्च सतर्कतामा देखिनुभएको छ । 

विशेष गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीका सुरक्षा निकायको दैनिकी नै मौसमको पूर्वानुमानसँग जोडिएको छ । मौसमको जानकारी लिने प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा निकायसँगको समन्वयमा बिपी राजमार्गमा हुन सक्ने सम्भाव्य जोखिम कम गर्न योजना बनाउने काममा उहाँहरू सव्रिmय बनेर लाग्ने गर्नुहुन्छ । केही दिनअघि रोशी खोलामा आएको भेलामा माइक्रोबस फस्दा उद्धार कार्यमा कठिनाइ भएपछि सुरक्षा निकाय थप सचेत बनेका छन् । सो घटनाले मनसुनको जोखिम केवल पूर्वानुमानमा सीमित नरहेको, जुनसुकै बेला ठुलो दुर्घटना निम्तिन सक्ने सङ्केत दिएको सुरक्षा अधिकारीहरू बताउँछन् । सुरक्षा निकायको संयुक्त बैठकले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म जोखिमयुक्त क्षेत्रमा सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरिसकेको छ । निर्णय कार्यान्वयनमा प्रहरीले विशेष निगरानी बढाएको छ । राति खोलामा पानीको बहाव अचानक बढ्ने र पहिरो खस्ने सम्भावना उच्च हुने भएकाले यात्रु सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको जनाइएको छ । मनसुन सुरु हुन अझ केही समय बाँकी रहे पनि सुरक्षा निकायले भने त्यसलाई सामान्य मौसमी घटना होइन, सम्भावित चुनौतीका रूपमा लिएका छन् । त्यसैले यतिबेला प्रहरी नेतृत्वको ध्यान केवल अपराध नियन्त्रणमा मात्र होइन, प्राकृतिक विपत्बाट नागरिकलाई सुरक्षित राख्ने तयारीमा केन्द्रित देखिन्छ ।

सुरक्षा निकायले देखाएको तत्परताले धेरैको ज्यान जोगाएको चालकको अनुभव छ । बिपी राजमार्गको दैनिक जानकारी सिन्धुली र काभ्रे प्रशासनले समयमै दिने गरेको लामो समयदेखि बिपी राजमार्र्गमा सार्वजनिक सवारीसाधान चलाइरहनुभएका सुवास विष्टले उल्लेख गर्नुभयो । उहाँले चालक, सहचालक तथा यात्रुको सुरक्षाका लागि प्रहरीले राम्रो भूमिका खेलेको र उहाँहरूले भनेको मान्न अरू चालकहरूलाई अनुरोध गर्नुभयो । 

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।