शालिग्राम नेपाल
चितवन, वैशाख २८ गते । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जाने उच्च जोखिमका दुई स्थानमा स्थायी रूपमा रोकथाम गर्न थालिएको छ । बर्सातमा पहिरो गएर ५६ घण्टासम्म सडक अवरुद्ध भएपछि स्थायी रोकथामका लागि दुई स्थानमा निर्माण कार्य गर्न ठेक्का आह्वान भएको छ । गत वर्ष पटक पटक गरेर एक महिनासम्म पहिरोले सडक अवरुद्ध बनाएपछि सङ्घीय सदनमा समेत यसबारे आवाज उठेको थियो ।
अति जोखिम हुने तुइनखोला र नाम्सीखोलाको पहिरोमा रोकथामका लागि ठेक्का आह्वान भएर काम अगाडि बढेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो । “अति जोखिम भएको दुई स्थानमा पहिलो प्राथमिकता दिएर ठेक्का अह्वान भएको छ । केही हप्ताभित्रै काम सुरु गर्ने गरी ठेक्का आह्वान भएको हो,” घिमिरेले भन्नुभयो, “असार महिनाभित्र ती जोखिम भएका स्थानमा रोकथामको काम हुने छ ।”
सडक विभागको प्राविधिक टोलीले लामो समय अध्ययन गरेर यस सडक खण्डको ४३ स्थानमा पहिरो रोकथामका लागि काम गर्नुपर्ने प्रतिवेदन निकालेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले भन्नुभयो, “धेरै स्थानमा पहिरो जाने जोखिम छ, मुख्य स्थानमा यसै आर्थिक वर्षमा काम सुरु हुने छ ।” अध्ययन प्रतिवेदन अनुसार ठेक्का आह्वान भएको उहाँले बताउनुभयो । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर घिमिरेका अनुसार यस सडकखण्डमा आठ ठाउँ उच्च जोखिम, २२ ठाउँ जोखिम र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेको छ । सीमित बजेट भएकाले तत्काललाई दुई स्थानमा काम सुरु गर्न लागिएको घिमिरेले बताउनुभयो । उहाँले नाम्सीखोलाको मुग्लिङतर्फ ठेक्का आह्वान भएको र नाम्सीखोलाको नारायणगढतर्फ ठेक्का आह्वानको तयारी हुँदै गरेको बताउनुभयो । उहाँले कालीखोलामा पनि पहिरो रोकथामका लागि ठेक्का लाग्ने बताउनुभयो ।
कार्यालयका अनुसार चार किलोको दुई ठाउँ, मौरीखोला र सेतीदोभान पनि पहिरोको उच्च जोखिममा रहेका छन् । यी स्थानमा पछि रोकथामको कार्य सुरु हुने छ । “तुइन र चिसेन्जीका बिचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सीखोलाछेउमा पहिरोको उच्च जोखिम छ,” घिमिरेले भन्नुभयो, “चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या छ ।”इन्जिनियर घिमिरेले भन्नुभयो, “मौरीखोला र सेतीदोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ । यहाँ विगतका वर्षमा पहिरो गएर घण्टौँसम्म सडक अवरुद्ध भएको थियो ।” १६ किलो, १७ किलो, डुम्रेखोला, सिमलताललगायत ठाउँमा अस्थायी रोमथामका उपाय गरिने उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख लामिछानेले केही वर्ष अगाडि सडक विस्तारका व्रmममा भित्ता काटिएका कारण समस्या आएको बताउनुभयो । भित्ता काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा सडकमा लेदोसहित पहिरो खस्दै आएको छ । २२ महिनाअगाडि मात्रै सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस बगेका थिए ।