नारद कोहार
तौलिहवा (कपिलवस्तु), वैशाख २८ गते । जिल्लाको मायादेवी गाउँपालिकाका शिक्षकहरुलाई विद्यालय सुधार योजना (एसआईपी) निर्माणसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजनाअन्तर्गत दलित सामाजिक विकास केन्द्रको आयोजनामा भएको कार्यक्रमलाई युनाईटेड मिसन टु नेपाल कपिलवस्तुको आर्थिक सहयोग तथा मायादेवी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको समन्वय रहेको थियो ।
सो अवसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका निमित्त प्रमुख चोपलाल बेलबासेले विद्यालय सुधार योजना व्यवहारमा कार्यान्वयन गर्न सकिने खालको हुनुपर्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेका विषयलाई विद्यालयमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्दै गुणस्तरीय शिक्षाका लागि योजनाबद्ध सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो । स्रोत जुठाउनका लागि केही पाहल गर्नुपर्ने उहाँको भनाइ छ ।
मायादेवी गाउँपालिका शिक्षा शाखाका प्रमुख बद्री बेलबासेले विद्यालय व्यवस्थापन र शैक्षिक सुधारका लागि एसआईपी महत्त्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले स्थानीय तहले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहकार्य गर्दै आएको जानकारी दिनुभयो । उहाँले हासिल गरेको ज्ञान सिपलाई विद्यालयमा लागू गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक रविन्द्र आचार्यले विद्यालय सुधार योजनाका विभिन्न चरण, योजना निर्माण प्रक्रिया तथा परिमार्जित खाकाका विषयमा सहजीकरण गर्नुभएको थियो । विद्यालयको आवश्यकता पहिचान गरी दीर्घकालीन लक्ष्यसहित योजना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अब्दुस सलामले तालिमले विद्यालयको योजना निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुगेको बताउनुभयो । यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सुमन्त यादवले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।
दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती बासीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्रका २५ वटा विद्यालय तथा मदरसाका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।