नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २८ गते । तिला गाउँपालिका–५ डुङ्ग्री गाउँ अझै पनि आधारभूत पूर्वाधारबाट वञ्चित रहेको छ । एउटै वडाभित्रका चुलाकोट, खोलिगाउँ र ढिम्कोटमा करिब एक वर्षअघि विद्युत् सेवा विस्तार भई गाउँ उज्यालो बने पनि डुङ्ग्री गाउँमा भने अहिलेसम्म बिजुली बत्ती बाल्न सकिएको छैन । विद्युत् पोल गाडिएको लामो समय बितिसक्दा पनि लाइन जडान नहुँदा स्थानीयवासी निराश बनेका छन् ।
विद्युत् नहुँदा स्थानीय अझै दियालो (झरो) र टुकीको भरमा रात कटाउन बाध्य छन् । साँझ परेपछि गाउँ अन्धकारमा डुब्ने गरेको स्थानीय नरेन्द्रबहादुर शाही ले बताउनुभयो । उहाँका अनुसार उज्यालो नहुँदा बालबालिकाको पढाइ प्रभावित भएको छ भने वृद्धवृद्धा र महिलालाई दैनिक कामकाज गर्नसमेत समस्या भएको छ ।
स्थानीयका अनुसार विद्युत् पोल गाडिएपछि छिट्टै उज्यालो आउने आशा भए पनि लामो समयसम्म काम सम्पन्न नहुँदा निराशा बढेको छ । अर्का स्थानीय भुपेन्द्र शाही ले वर्ष बितिसक्दा पनि बत्ती नबल्नु दुःखद भएको बताउनुभयो ।
डुङ्ग्री गाउँ भौगोलिक रूपमा विकट भएकाले सडक सञ्जालसमेत पुग्न सकेको छैन । सडक अभावका कारण स्थानीयले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन कठिनाइ भइरहेको छ । यहाँ फापर, सिमी, गहुँ, मकै, जौ, कोदो, चिनो, कागुनो र भटमासजस्ता रैथाने बाली उत्पादन हुने भए पनि बजार नपाउँदा उचित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।
स्थानीयका अनुसार उत्पादन बजारसम्म पुर्याउन घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ । सडक नहुँदा खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भइरहेको छ । वर्षायाममा बाटो झन् जोखिमपूर्ण बन्ने भएकाले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउनसमेत कठिनाइ हुने गरेको छ ।
सामान्य प्रशासनिक सेवा लिन पनि स्थानीयले सास्ती भोग्नुपरेको छ । वडा कार्यालय रहेको चुलाकोट पुग्न चारदेखि पाँच घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । नागरिकता, सामाजिक सुरक्षा भत्ता तथा सिफारिसका लागि दिनभर समय खर्चिनुपर्ने बाध्यता छ ।
स्थानीयवासीले राज्यले विकट बस्तीलाई प्राथमिकतामा राखेर विकास निर्माण गर्नुपर्ने माग गरेका छन् । स्थानीय भुमिकला शाही ले विकास नपुगेका कारण अझै अन्धकारमै बस्न बाध्य भएको गुनासो गर्नुभयो । उहाँले तत्काल विद्युत् सेवा सञ्चालन, सडक विस्तार तथा कृषि उत्पादनको बजारीकरणमा पहल गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
ललित शाही ले सडक निर्माण कार्य भइरहेको र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् जडानका लागि समन्वय भइरहेको बताउनुभयो । वडाको सीमित बजेटका कारण विकास निर्माण अपेक्षाअनुसार अघि बढ्न नसकेको उहाँको भनाइ छ ।