• २८ वैशाख २०८३, सोमबार

सिक्टा सिँचाइ आयोजनाको पानी बाँकेका किसानका लागि वरदान

blog

बाँकेका किसानका लागि वरदान बनेको सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित मूलबाँध । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख २८ गते ।
सिँचाइ अभावका कारण लामो समयदेखि वर्षाको भरमा खेती गर्दै आएका बाँकेका किसानका लागि सिक्टा सिँचाइ आयोजना को पानी अहिले वरदान साबित भएको छ ।

नहरमा नियमित पानी आउन थालेपछि गर्मीयाममा बाँझो रहने जमिन उपयोगमा आउन थालेको छ भने किसानको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिक्टा सिँचाइ नहरको पानीले बाँकेका किसानको खेती प्रणालीमै ठुलो परिवर्तन ल्याएको सालिकराम डाँगी ले बताउनुभयो । उहाँका अनुसार वर्षौंदेखि आकाशे पानीको भरमा दुई खेती मात्र गर्दै आएका किसान अहिले नियमित सिँचाइ सुविधा पाएपछि बसन्ते मकैसहित तीन खेती गर्न सफल भएका छन् ।

गर्मी याममा बाँझो रहने जमिन सिक्टा सिँचाइको पानीका कारण हराभरा बन्न थालेको छ । यसले खेतीयोग्य जमिनको उपयोग बढाउनुका साथै किसानको आम्दानी पनि वृद्धि भएको जयराम थारूले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला सिँचाइ अभावका कारण मुस्किलले दुई खेती हुन्थ्यो, अहिले सिक्टाको पानी लिफ्ट सिस्टममार्फत पाउन थालेपछि गाउँको मुहार नै फेरिएको छ ।”

त्यस्तै राजेन्द्र खत्री ले बाँके राष्ट्रिय निकुञ्ज नजिकको बालापुर क्षेत्रमा पहिले उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था रहेकोमा अहिले तीन खेती गर्न थालेपछि घरखर्च धान्न र उत्पादन बेचेर आम्दानी गर्नसमेत सहज भएको बताउनुभयो ।

सिक्टा नहरले बाँकेका किसानको खेती चक्र नै परिवर्तन गरिदिएको नहर प्रभावित क्षेत्रका किसानहरूको भनाइ छ । उनीहरूका अनुसार आकाशे पानीको भरमा खेती गर्ने किसान अहिले वसन्ते मकैजस्ता नगदे बालीतर्फ आकर्षित भएका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेले सिक्टा सिँचाइ आयोजनाको नहर पुगेका क्षेत्रमा खेती प्रणालीमा ठुलो परिवर्तन आएको बताउनुभयो । उहाँका अनुसार हाल जिल्लामा चार हजार २०० हेक्टरभन्दा बढी क्षेत्रमा बसन्ते मकै खेती भइरहेको छ ।

उहाँले सिक्टा नहरबाट उपलब्ध सिँचाइ सुविधाका कारण किसानको आकर्षण बसन्ते मकै लगायत अन्य नगदे बालीतर्फ बढ्दै गएको जानकारी दिनुभयो ।