• २८ वैशाख २०८३, सोमबार

म्याग्दे गाउँपालिकामा ९६ जना श्रमिक मजदुर कोषमा सूचीकृत

blog

मजदुरलाई ‘सञ्चित कोष’ को आबद्धता प्रमाणपत्र प्रदान गरिँदै । तस्बिर:अमरराज नहर्की

 अमरराज नहर्की 

तनहुँ, वैशाख २८ गते । तनहुँको एक गाउँपालिकाले श्रमको सम्मान र श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ ‘मजदुर सञ्चित कोष’ कार्यक्रमलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएको छ ।

जीवनभर अर्काका लागि पसिना बगाउने तर विपद् र बुढ्यौलीमा सहाराविहीन हुने अवस्थाको अन्त्य गर्न म्याग्दे गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो ।

दुई चरणमा गरी हाल सम्म ९६ जना श्रमिकलाई कोषमा सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चरणमा ६६ जना र दोस्रो चरणमा ३० जना मजदुरलाई कोषमा आबद्ध गराई सम्झौता प्रक्रिया सम्पन्न गरेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले कोषमा आबद्ध श्रमिकलाई हालै आयोजित एक समारोहमा सूचीकृत भएको प्रमाणपत्र र सम्झौतापत्र हस्तान्तरण गर्नुभयो ।

दैनिक आठ सय रुपियाँसम्म आम्दानी गरे पनि बचत गर्ने बानी नहुँदा स्वास्थ्य, शिक्षा र आवासका लागि सङ्कट झेल्दै आएका विपन्न मजदुरलाई लक्षित गरी ‘मजदुर सञ्चित कोष सञ्चालन कार्यविधि २०८१’ बमोजिम यो कार्यक्रम अघि बढाइएको हो ।

यो नवीन अभ्यास गर्ने म्याग्दे गण्डकी प्रदेशकै दोस्रो र तनहुँको पहिलो स्थानीय तह बनेको छ । यसअघि स्याङ्जाको फेदी खोला गाउँपालिकाले मात्र यस्तो कोष सञ्चालन गरेको थियो ।

कोषको कार्यविधि अनुसार सूचीकृत मजदुरले सार्वजनिक विकास निर्माणका काममा सङ्लग्न हुँदा प्राप्त गर्ने ज्याला अनिवार्य रूपमा बैङ्किङ प्रणालीबाट भुक्तानी पाउने छन् ।

भुक्तानीका क्रममा श्रमिकको ज्यालाबाट १५ प्रतिशत रकम कट्टा गरिनेछ भने त्यसमा पालिकाले थप १५ प्रतिशत रकम बोनस स्वरूप थपेर चौमासिक रूपमा मजदुरको बैँक खातामा बचत गरिदिने व्यवस्था छ ।

यो बचतबाहेक आबद्ध श्रमिकले स्वास्थ्य बिमा लगायतका अन्य सामाजिक सुरक्षाका सुविधाहरू समेत प्राप्त गर्ने पालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार श्रमिकको सम्भावित आर्थिक जोखिम कम गर्दै मर्यादित जीवन सुनिश्चित गर्न यो कार्यक्रम कोशेढुङ्गा साबित हुने छ । 

१८ देखि ५९ वर्ष उमेर समूहका दैनिक ज्यालादारी गर्ने विपन्न श्रमिकलाई प्राथमिकता दिइएको यस कार्यक्रमले श्रमको सम्मान र उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।