• २८ वैशाख २०८३, सोमबार

महाकाली किनारको उत्खननमा प्रशासनको कडा निगरानी

blog

महाकाली नदी किनार क्षेत्रमा भइरहेको नदीजन्य सामग्री उत्खनन । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट
बैतडी, वैशाख २८ गते ।
महाकाली नदी किनार क्षेत्रमा भइरहेको नदीजन्य पदार्थ उत्खननप्रति जिल्ला प्रशासन कार्यालय बैतडीले निगरानी कडा बनाएको छ । पञ्चेश्वर गाउँपालिका–४, जंगल्तडा क्षेत्रमा सडक निर्माणका लागि नदीजन्य सामग्री उत्खनन भइरहेको हो ।

पाटन–पञ्चेश्वर सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीले महाकाली नदीबाट बालुवा, ढुङ्गा र गिट्टी निकालिरहेको भन्दै स्थानीयले गुनासो गरेपछि प्रशासन सक्रिय बनेको जनाएको छ । गाउँपालिकाले सडक निर्माणका लागि आवश्यक सामग्री सङ्कलन गर्न अनुमति दिएको भए पनि निर्माण कार्यको नाममा अत्यधिक उत्खनन भइरहेको आरोप लागेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस महिनामात्र पाँच वटा टिप्पर नियन्त्रणमा लिएर सम्बन्धित पालिकाको जिम्मा लगाइएको छ । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई ले अवैध उत्खनन रोक्न प्रशासनले निगरानी बढाएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले नियन्त्रणमा लिइएका टिप्पर राजस्व सङ्कलनपछि छाडिएको जानकारी दिनुभयो ।