• २८ वैशाख २०८३, सोमबार

लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने

blog

लोमान्थाङ गाउँपालिका ।

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख २८ गते ।
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । जाडोयाममा कात्तिकदेखि फागुन महिनासम्म विकास निर्माण, शैक्षिक गतिविधि समेत ठप्प हुने भएकाले आइतबार बिदाले सेवा प्रवाहमा असर गर्ने देखिएपछि आइतबार पनि सेवा सुचारु राख्ने निणर्य गरेको हो । नेपाल सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङले जाडोयाममा ठप्प हुने गाउँपालिकाको गतिविधिलाई सहज बनाउन आइतबार पनि गाउँपालिकाभित्रको सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘मौसमजन्य अवस्थाका कारण आइतबार सेवा दिने निर्णय गरिएको हो,समुदायको माग पनि थियो ।’’ जाडो मौसममा गाउँपालिकाले सूचना नै जारी गरी विकास निर्माणलाई रोक्ने गरेको छ ।

लोमन्थाङबासीले जाडो छल्न करिब पाँच महिना जिल्ला बाहिर बिताउने गरेका छन् । मुस्ताङका अन्य चार स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिने गरेका छन् ।