• २८ वैशाख २०८३, सोमबार

काठमाडौँका ८ ठाउँमा निःशुल्क पिउने पानी बुथबाट पिउने पानी उपलब्ध

blog

काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन वोर्डसँगको सहकार्यमा सञ्चालनमा ल्याएको निःशुल्क वाटर एटीएम वुथ । तस्बिर: काठमाडौँ महानगरपालिका

काठमाडौँ, वैशाख २८ गते । महावौद्धमा राखिएको निःशुल्क वाटर वुथमा एक जना व्यक्ति आउनुभयो । उहाँले हातमा नाम्लो बोक्नुभएको थियो । वुथमा आएपछि टाउकोमा लगाइ राखेको टोपी खोल्नुभयो । हातमा भएको नाम्लो र टोपी छेउमा राख्नुभयो । धारो खोलेर दुवै हात मिचिमिचि धुनुभयो । मुख धुनुभयो । त्यसपछि पानी पिएर छेउमा राखेको टोपी लगाउनु भयो । नाम्लो टिपेर गन्तव्य तिर लाग्नुभयो ।

खुला मञ्चमा भएको वुथमा एक जना ज्येष्ठ नागरिकले आएर भित्री कपडा धुनुभएको फुटेज सीसीटिभी क्यामरामा देखिएको छ । वैशाख ५ गते भेहिकल फ्री असन कार्यक्रम सुरु हुने बेलामा जमलमा भएको वाटर वुथबाट बोतलमा पानी थापेर मःमः पकाउन लगेको दृश्य विभागका अधिकारीकै सामुन्ने भएको देखिएको हो ।

वडा नं. ५ को वुथमा होलीका दिन डेढ घण्टामा ३ हजार लिटर पानी रित्तियो । कारण खोज्न सीसीटिभी फुटेज हेर्दा होली खेल्न वुथको पानी प्रयोग भएको देखियो ।

वाटर वुथसँग सम्बन्धित यस्ता धेरै क्रियाकलाप देखिन्छन् । जुन वुथ सञ्चालनको उद्देश्य भन्दा फरक छन् । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाईका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्य भन्नुहुन्छ, ‘‘यो वुथ विशुद्ध पिउने पानी वितरणका लागि हो । यो लुगा धुने धारो होइन । यहाँबाट पानी भरेर लैजान मिल्दैन । अझ यसरी भनौँ, यो केवल पिउनका लागि हो । यहाँको पानी पिउन बाहेक अरु केही पनि गर्न मिल्दैन ।’’

काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन वोर्डसँगको सहकार्यमा पछिल्लो समय ८ वटा निःशुल्क वाटर एटीएम वुथ सञ्चालनमा ल्याएको छ । निर्माणपछि प्रयोग परीक्षण गरेपछि २०८३ वैशाख ५ गते यी वुथहरुको औपचारिक शुभारम्भ गरिएको हो । त्यस दिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, भेहिकल फ्री असन कार्यक्रमसँगै यी वुथको उद्घाटन गर्नुभएको थियो । यी ८ वटा वुथको निर्माण लागत २ करोड ६० लाख रुपियाँ हो । यी वुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुन्छ ।

नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी वुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौँको खुला मञ्च, महावौद्ध, दरबार हाइस्कूलको कम्पाउण्ड (जमलबाट कमलाछी जाने सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे (हाँडीगाउँ), वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।

वुथ निर्माण गर्न महानगरपालिका र वोर्ड बिच २०८१ फागुन २५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता बमोजिम बोर्डले खुला बोलपत्र आह्वान गरी निर्माण कम्पनी छनोट गरेको थियो । १८ महिना निर्माण पक्षबाट यसको सञ्चालन हुनेछ । त्यसपछि महानगरपालिकाले सञ्चालन व्यवस्थापन गर्नेछ ।

वुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको छ । पानीको स्वच्छता नियमित रुपमा परीक्षण गर्ने गरिएको छ । यसमा २४ सै घण्टा पानी उपलब्ध हुन्छ । यसको उपयोग र संरक्षण निगरानीका लागि सीसीटिभी क्यामरा जडान गरिएको छ । यसको डिजाइन गर्दा बालमैत्री संरचनामा ध्यान दिइएको छ ।

यो केवल वाटर वुथ मात्र होइन । स्वच्छ खानेपानीमा पहुँच हुने संवैधानिक तथा मौलिक अधिकारको प्रत्याभूति र दिगो विकास लक्ष्य प्राप्तिको प्रयास पनि हो ।

यो वुथ काठमाडौँको मौलिक जरु हिटिको परिवर्तित स्वरुप मान्न सकिन्छ । काठमाडौँबासीका घरमा पानीको धारा नजोडिएका समयमा हिटिमा पानी लिन जान्थे । यसरी पानी ल्याउन गाग्रीसँगै एउटा सानो लोटा वा अंखोरा पनि हुन्थ्यो । हिटिबाट पानी भरेर फर्किँदा अंखोरामा भएको पानी बाटोमा बनाइएको पानी संकलन गर्ने ठाउँमा राखिन्थ्यो । टोलभरिका सबैले अलिअलि गरेर जम्मा गरेको त्यो पानी बटुवाको तिर्खा मेटाउनका लागि प्रयोग हुन्थ्यो ।

आफूसँगै अरुलाई बचाउने काठमाडौँवासीको मौलिक परम्परा हो । पहिलेजस्तो अहिले हिटिमा गएर पानी ल्याउनु पर्दैन । यसकारण जरुहिटि पनि सुक्दै गए । यसरी सुक्दै गएका जरुहिटिले वटुवालाई दिने सेवा प्रदान गर्न निःशुल्क वाटर एटीएम वुथ बनाइएका हुन् ।