काठमाडौँ, वैशाख १८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्रका लुलु गाईपालक किसान कर्माछिरिङ गुरुङले गाईको स्वास्थ्य परीक्षणमा अल्ट्रासाउन्ड र भिडियो एक्सरे जस्तो प्रविधि प्रयोग हुन्छ भन्ने कुरा कल्पनासम्म गर्नुभएको थिएन तर गाउँमा पहिलो पटक अत्याधुनिक उपकरणसहित पशुविज्ञ टोली पुगेर उहाँका गाईको अल्ट्रासाउन्ड गरी रोग भए/नभएको बारे जानकारी दिएपछि उहाँमा खुसीको सीमा नै रहेन ।
घरपझोङ–३, स्याङका किसान जीवन थकालीले मानिसलाई जस्तै जाँच गर्ने उपकरण गोठमै प्रयोग भएको देख्दा अचम्म लागेको बताउनुभयो । यो प्रविधिबाट पशुमा बाँझोपनको समस्या भए÷नभएको पहिचान गर्न सकिएको छ, जसले पशुपालनप्रति थप ऊर्जा मिलेको छ । थासाङ, लेतेका भैँसीपालक किसान बुद्धिबहादुर सार्कीले टेलिभिजनमा मात्र देखिने यस्तो प्रविधि आफ्नै गाउँमा प्रत्यक्ष देख्दा विश्वास लागेको उल्लेख गर्नुभयो । “पशुको उपचार पनि मानिसको जस्तै प्रविधिबाट हुने रहेछ,” उहाँले भन्नुभयो ।
पछिल्ला वर्षमा पशुपालक किसानको सङ्ख्या घट्दै गएपछि कृषि तथा पशु सेवा कार्यालय मुस्ताङले उच्च हिमाली क्षेत्रमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पशु विशेषज्ञ टोली परिचालन गरेको हो । विशेष गरी छुर्पी र घिउ उत्पादनमा केन्द्रित यस क्षेत्रका किसानलाई लक्षित गर्दै विशेषज्ञको टोली त्यस क्षेत्रमा पुगेको हो । यसअघि आँखाले हेरेर र लक्षणका आधारमा मात्र रोग पहिचान गरिने गरिएकामा अहिले अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन थालेपछि किसानमा नयाँ आशा पलाएको छ । विज्ञ टोलीले लेते, टुकुचे, मार्फा, ढुम्बा, स्याङ, कागबेनी, झारकोट र छैङगुरलगायतका गाउँमा पुगेर सेवा दिएको हो । यी क्षेत्र समुद्री सतहबाट करिब दुई हजार चार सयदेखि तीन हजार सात सय मिटर उचाइमा अवस्थित छन् ।
कृषि तथा पशु सेवा कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार स्थानीय जातको संरक्षण, नश्ल सुधार तथा गाईभैँसीमा देखिएको बाँझोपन समस्या न्यूनीकरणका लागि रगतको नमुना सङ्कलन गरी रेक्टल पाल्पेसन र अल्ट्रासाउन्ड विधिबाट परीक्षण तथा उपचार गरिएको हो । मुस्ताङ जिल्लामा हाल छ हजार ६८१ गाई र २११ भैँसी रहेका छन् । तीमध्ये २३८ गाई र २५ भैँसीको परीक्षण गर्दा ४८ पशुमा विभिन्न प्रकारका प्रजननसम्बन्धी समस्या देखिएको छ ।