गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १८ गते । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबिच कर्जा कारोबार गर्ने गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताबमोजिम राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीले नेपाल बैङ्कको काठमाडौँ बैङ्किङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पूरा गर्नका लागि १५ लाख रुपियाँसम्म बिनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्ने भएका छन् । सम्झौताबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीले एकै थलोबाट वित्तीय आवश्यकता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा नेपाल बैङ्क र कम्पनीबिचको संस्थागत सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
बैङ्ककोे प्रधान कार्यालयमा आयोजित एक समारोहमा भएको सम्झौतापत्रमा नेपाल बैङ्कका तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कँडेल र राष्ट्रिय बिमा कम्पनी लिमिटडका तर्फबाट मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले हस्ताक्षर गर्नुभयो ।