• २८ वैशाख २०८३, सोमबार

सल्यानमा बाढीपहिरोले पूर्वाधार र कृषिमा ठुलो क्षति

blog

अविरल वर्षापछि आएको बाढीले सल्यानको बागचौर क्षेत्रमा सडक, खानेपानी तथा कृषियोग्य जमिनमा पुर्‍याएको क्षति । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख २८ गते ।
अविरल वर्षासँगै आएको बाढीपहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । शनिबार करिब दुई घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खहरेखोलामा आएको बाढीले बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका का विभिन्न योजनामा व्यापक क्षति पुर्‍याएको हो ।

बाढीले बागचौर नगरपालिका–६, ७, ८, ९ र १० तथा छत्रेश्वरी गाउँपालिका–१ र २ मा सडक, खानेपानी, सिँचाइ कुलो, तटबन्धलगायत दर्जनौँ योजनामा क्षति पुर्‍याएको स्थानीय तहले जनाएको छ । दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् भने दर्जनौँ खानेपानी योजना र सिँचाइ कुलोमा क्षति पुगेको छ ।

शारदा नदीमा आएको बाढीले एक सय रोपनीभन्दा बढी खेतमा पाकेको गहुँ, तरकारी तथा सुन्तलाबालीमा क्षति पुर्‍याएको छ । बाढीले जलिरहेको शव, गहुँ बोकेको ट्याक्टर तथा पानीघट्टसमेत बगाएको स्थानीयले बताएका छन् । लगातारको वर्षाका कारण पहिरो जाँदा दुई घरमा पनि क्षति पुगेको छ ।

बाढीपहिरोका कारण सडक चिराचिरा पर्नुका साथै कल्भर्ट र ह्युमपाइप बग्दा बागचौर नगरपालिकाका विभिन्न सडकमा यातायात सेवा अवरुद्ध भएको छ । खानेपानीका मुहान पुरिनुका साथै पाइप र ट्याङ्कीमा क्षति पुगेपछि स्थानीयवासी प्रभावित बनेका छन् ।

यज्ञबहादुर डाँगी ले बाढीले वडाभित्रका तीन दर्जनभन्दा बढी सडक क्षतविक्षत बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार चार वटा खानेपानी योजनाको मुहान पुरिएको, ट्याङ्कीमा क्षति पुगेको तथा पाइप बगाएको छ ।

उहाँले भन्नुभयो, “लगातारको वर्षाले किसानले लगाएको अदुवा, आलु र सुन्तलाबालीमा समेत क्षति पुगेको छ । सडक बिग्रिएकाले सवारी सञ्चालन हुन सकेको छैन भने तीन सयभन्दा बढी परिवार खानेपानीका लागि टाढा जान बाध्य भएका छन् ।”

ज्ञानबहादुर वलीका अनुसार गत वर्ष मात्र निर्माण सम्पन्न भएको ५० लाख रुपियाँ लागतको हिमचौर खानेपानी योजनामा क्षति पुग्दा करिब एक सय २० परिवार प्रभावित भएका छन् ।


त्यस्तै प्रेमबहादुर डिसी ले बाढीले दर्जनभन्दा बढी सिँचाइ कुलो तथा खानेपानी योजनामा क्षति पुर्‍याएको जानकारी दिनुभयो । उहाँका अनुसार एक सय रोपनीभन्दा बढी खेत पुरिएको छ भने ह्युमपाइप र कल्भर्टसमेत बगाएको छ ।

सुशीलजङ्ग चन्द ले चार वटा खानेपानी योजनाको मुहान पुरिएको बताउँदै मर्मतका लागि नगरपालिकासँग आग्रह गरिएको जानकारी दिनुभयो । ज्ञानप्रसाद शर्मा धिताल ले कालाखेत क्षेत्रमा निर्माणाधीन तटबन्धमा क्षति पुगेको बताउनुभयो ।

यसैगरी प्रकाश हमाल ले बाढीले फारुली–दहखोली–लाखुरीबोट क्षेत्रमा निर्माणाधीन पदमार्गको स्ल्याब ढलान बगाएको तथा लसुने–काफलाबाङ खानेपानी योजनामा क्षति पुगेको जानकारी दिनुभयो ।

वर्षासँगै परेको असिनाले किवी र सुन्तलाबालीमा समेत थप क्षति पुर्‍याएको जनप्रतिनिधिहरूले बताएका छन् । यसअघि परेको असिनापानीले कपुरकोट क्षेत्रसहित बागचौर र छत्रेश्वरीका सुन्तला बगैंचामा ठुलो नोक्सानी पुगेको थियो ।

हाल प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा मर्मतको तयारी भइरहेको स्थानीय तहले जनाएको छ । महेश आचार्यले पछिल्ला दिनमा आएको हावाहुरी, असिना र वर्षाले फलफूल, तरकारी तथा कृषि बालीमा क्षति पुगेको गुनासो आएको बताउँदै स्थानीय तहसँग समन्वय गरेर क्षति विवरण संकलन गरिने जानकारी दिनुभयो ।