जनार्जन खत्री
सर्लाही, वैशाख २८ गते । बेमौसमी वर्षाले विस्तारका व्रmममा रहेको महेन्द्र राजमार्गमा बारम्बार डाइभर्सन बगाउँदा यात्रु र निर्माण व्यवसायी दुवैले सास्ती पाएका छन् ।
सर्लाही, महोत्तरी र धनुषा खण्डको पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउने काम जारी छ । दर्जनौँ ठाउँमा कलभर्ट र पुल निर्माण भइरहेका छन् । काम भइरहेको ठाउँमा डाइभर्सन बनाएर सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।
कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशप्रसाद दासले फटाफट काम गर्नुपर्ने समयमा कहाँको डाइभर्सन बगाउने हो भन्ने चिन्तामा बस्नुु परेको बताउनुभयो । सोच्दै नसोचेको समयमा निरन्तर वर्षा भएर डाइभर्सन बगाइरहँदा पुल र कलभर्ट निर्माण कार्यमै प्रभाव पारेको योजना प्रमुख दासको भनाइ छ ।
उहाँका अनुसार मुख्य गरी महोत्तरी खण्डको टुटेश्वर र बेलगाछी क्षेत्रमा पटक पटक डाइभर्सन बगाएर हैरानी भइरहेको छ । बाढी आएको समयमा यात्रु घन्टौँ जाममा पर्ने गरेका छन् ।
बाढीमै हेलिएर चलाइने सवारीसाधन बगाउने जोखिमसमेत रहेको छ । आफू शुव्रmबार बर्दीबासतर्फबाट आउँदा महोत्तरी खण्डको जङ्गलमा डाइभर्सनबाट कट्नै नसक्ने गरी बाढी आउँदा बाढी कम नहुन्जेल कुरेर बस्नु परेको लालबन्दी नगरपालिका–७ का सुरज थापाले बताउनुभयो । बाढी आउँदा विशेष गरी मोटरसाइकल, ट्याम्पो, कारलगायत सवारी जाममा पर्ने गरेका छन् । विस्तार भइरहेका सडकको दर्जनौँ स्थानमा डाइभर्सनबाट हिँड्नु पर्दा त्यसै पनि समय बढी लागिरहेको अवस्थामा बाढी आएर जाममा बस्नु पर्दा थप समय लागेको यात्रुको भनाइ छ ।
योजना प्रमुख दासले बारम्बार पानी परेर बाढी आइरहँदा महोत्तरी खण्डको जङ्गलमा निर्माण व्यवसायीले बगाएको डाइभर्सन बनाइहाल्न कामदार र मेसिन ‘स्ट्यान्डबाई’ राख्नु परेको बताउनुभयो । उहाँले यात्रुलाई धेरैबेर सास्ती नहोस् भनी डाइभर्सनमा ह्युमपाइप हाल्न र मर्मत गरिरहन भनिएको बताउनुभएको छ ।
यसअघि चैत २६ गते बिहान सर्लाहीको हरिवनस्थित चापिनीखोलामा डाइभर्सन बगाउँदा पाँच घण्टाभन्दा बढी पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । अहिले बर्दीबासदेखि सर्लाहीसम्म पाँच वटा पुल भत्काएर काम भएकाले बर्खाअघि अर्थात् जेठ १५ सम्म सक्ने गरी रातदिन नभनी काम गरिरहेको कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।