• २३ माघ २०८२, शुक्रबार

मलसँग मत साट्छौँ भन्छन् किसान

blog

आलु खन्दै काभे्रका किसान ।

भोट माग्नका लागि आफ्नो खेतबारीसम्म उम्मेदवार कहिले आउलान् र आफूले फलाएको आलुले उचित मूल्य किन नपाएको भनेर जिज्ञासा राखौँला भन्ने लागेको छ । 

काभ्रेपलाञ्चोक (पाँचखाल), माघ २३ गते । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका कृषक सीता दनुवारलाई प्रतिनिधि सभाको निर्वाचनअगावै आलु खनेर सक्ने र त्यसमा तरकारी रोप्ने चिन्ता छ । आफ्नो खेतसम्म उम्मेदवार कहिले आउलान् र आफूले फलाएको आलुले उचित मूल्य किन नपाएको भनेर जिज्ञासा राखौँला भन्ने उहाँलाई लागेको छ । समयमा रासायनिक मल उपलब्ध नहुँदा किसानले समस्या झेले । त्यसपछि आलुको बिउ राखेको शीतभण्डारले पनि दुःख दियो । अहिले आलुको लगत मूल्य पनि नउठ्ने गरी आलुको भाउमा गिरावट आएपछि उहाँ उम्मेदवारलाई किसानको पक्षमा के गर्नुहुन्छ भनेर प्रश्न सोध्न उम्मेदवार कुरेर बस्नुभएको छ । 

‘किसानको काम मत हाल्ने मात्र होइन’ भन्ने सन्देश पाँचखालले दिन खोजेको उहाँले बताउनुभयो । “खेतमा आएर उम्मेदवारले हात जोड्दैमा कोही पनि महान् हुँदैन, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाएपछि मात्रै असली जनसेवक ठहरिन्छ,” दनुवारले भन्नुभयो, “आलु र तरकारीको उचित मूल्यसहितको बजारको ग्यारेन्टी र योजनाबारे उम्मेदवारसँग प्रश्न राख्छौँ ।’’ 

पाँचखाल काफ्लेडिहीका किसान ज्ञानबहादुर थापाले पाँचखालका किसानमा आलुको भाउ घटेपछि निर्वाचनको उमङ्ग बढ्न नसकेको बताउनुभयो । आलु खन्ने बेला भइसक्यो तर भाउ आएन । पोहोर यही समयमा ३५ रुपियाँ प्रतिकिलो बेचेका किसानले अहिले २२ रुपियाँ मात्रै व्यापारीले भन्न थालेपछि समस्यामा परेको थापाले गुनासो गर्नुभयो । “भारतीय आलुले बजारमा वर्चस्व कायम गरेपछि पाँचखालको आलुले भाउ नपाएको व्यापारीबाट सुनेका हौँ,” थापाले भन्नुभयो । पाँचखालका किसानले माघमै निकालेको आलुको राम्रो भाउ पाउँथे तर यो वर्ष अहिले नै भाउ नपाएपछि निर्वाचनको उमङ्ग पाँचखालसम्म आउन नसकेको उहाँले बताउनुभयो । कुनै समय पाँचखालका किसानले यो समयमा एक किलो आलुको ४० रुपियाँसम्म भाउ पाउने गरेका थिए । 

अग्रणी किसानसमेत रहनुभएका पाँचखाल–२ का अध्यक्ष रामेश्वर दाहालले किसानका समस्याका बारेमा उम्मेदवारले संसद्मा पुगेर आवाज उठाउने प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो । 

पाँचखालमा कति जग्गामा तरकारी खेती गरिन्छ भन्ने यकिन तथ्याङ्क कुनै पनि निकायसँग छैन । स्थानीय बिउ बिक्रेता तथा अग्रज किसान सरोज सापकोटाले पाँचखालमा कम्तीमा ३० हजार रोपनी खेतबारीमा आलु खेती हुने गरेको उल्लेख गर्नुभयो । उहाँले पाँचखालका किसानको आम्दानीको पहिलो स्रोत नै तरकारी खेती भएकाले उम्मेदवारसँग तरकारीको मूल्यमा आउने उतारचढाव र बजारको अभावका बारेमा कुरा राख्ने बताउनुभयो । पाँचखालमा एक याममा छ अर्बभन्दा धेरैको आलु बिक्री हुने गरेको छ । यसमा कम्तीमा १५ हजार परिवार आलु खेतीबाट आफ्नो परिवारको वर्षभरीको खर्चको जोहो गर्ने गरेका छन् । माघदेखि जेठसम्मका पाँच महिना काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख सहरमा पाँचखालको आलुको वर्चस्व रहन्छ । 

पाँचखालका किसानले आलुको भाउको चिन्ता हुँदा पनौती कुशादेवीका सन्तोष न्यौपानेले खेती गरेर खान्छु भन्दा पनि अझै पनि सहज रूपमा रासायनिक मल नपाएको सुनाउँदै उम्मेदवारसँग ‘मल दिनूस्, मत लिनूस्’ भन्ने अभियान नै सञ्चालन गर्ने समय आएको बताउनुभयो । पाँचखालमा आलु खन्ने याम सुरु हुँदा पनौती, धुलिखेल, बेथानचोक र बनेपामा भने आलु रोप्न सुरु भएको छ । प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो मुद्दा बोकेर गाउँ गएका उम्मेदवारसँग किसानले मलसँग मत साट्ने उल्लेख गर्नुभयो । 

  

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।