काठमाडौँ, चैत १२ गते । बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार बनाउने उद्देश्यले बिउको अडिट गर्ने प्रावधान कार्यान्वयनमा ल्याउने भएको हो । बिउको गुणस्तरका कारणले हरेक वर्ष नेपाली किसानले ठुलो क्षति बेहोरेपछि यस्तो परीक्षण सुरु गर्न लागिएको हो ।
तीन तहका सरकारसँग भएका कृषि प्राविधिकमार्फत सरकारले बिउको अडिट गर्ने छ । बिउबिजनको गुणस्तर कायम राख्न बिउबिजन नियमावलीले दिएको अधिकारको आधारमा बिउको अडिट गरिने भएको हो । यसले विभिन्न तवरबाट खुलेका बिउबिजन परीक्षण प्रयोगशालाले गर्दै आएको उमारशक्ति, शुद्धता, चिस्यान, स्वास्थ्य, तौल निर्धारण, ओजस, जीवितपनालगायतका परीक्षणमा एकरूपता कायम राखी देशैभर गुणस्तरीय बिउको आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवनका प्रमुख वेनु प्रसाईंले गुणस्तरीय उत्पादनका लागि बिउ, खेतबारीको अवस्थाले विशेष भूमिका खेल्ने भएकाले सरकारले कृषि प्राविधिकमार्फत बिउको अडिट गर्ने जानकारी दिनुभयो । सङ्घीय, प्रदेश र स्थानीय संरचनामा कार्यरत कृषि प्राविधिक तथा बिउ निरीक्षक (सिड इन्सपेक्टर) मार्फत अडिट गरिने र त्यसले समग्र कृषि प्रणालीलाई नै सुधारमा सहयोग पु¥याउने बताउनुभयो ।
केन्द्रका अनुसार आयातित बिउमा पनि विक्रेताले बिउ बेच्ने क्रममा अनिवार्य बिल उपलब्ध गराउनुपर्ने छ । बिलमा बिउको सबै कुरा लेखेर मात्रै बिक्री गर्न र बिल लिन किसानलाई सरकारले अनुरोध गरेको छ । बिउका कारणले किसानको क्षति भएमा क्षतिपूर्ति नतिरे बिउ बिक्री अनुमतिपत्र रद्द गर्ने र अरू स्रोतबाट भए पनि क्षतिपूर्ति भराउने व्यवस्था सरकारले गर्ने छ । किसानले किनेको बिउमा कैफियत देखिएमा र उत्पादन नभएमा सरकारले सम्बन्धित बिउ उत्पादकसँग क्षतिपूर्ति भराउने कृषि प्रचार अधिकृत कुलप्रसाद दवाडीले उल्लेख गर्नुभयो । क्षतिपूर्ति नभरेसम्म बिउ बिक्री र उत्पादनमा रोक लगाउने उहाँले स्पष्ट पार्नुभयो ।
बिउको उत्पादन क्षमतादेखि रोपिएको खेतको निरीक्षणसम्मको सबै प्रक्रिया पूरा भएपछि मात्रै बिउ उपयुक्त भएको सिफारिसका आधारमा उत्पादकले प्रमाणिक प्रमाणपत्र पाएपछि किसानसम्म बिउ पुग्ने गर्छ । यसले उत्पादनमा कुनै समस्या नआउने विश्वास सरकारी निकायले गरेको छ । बिउ अडिटको मुख्य उद्देश्य गुणस्तरीय बिउ नै हो । कृषि प्राविधिकले उत्पादकले अवलम्बन गरेको बिउ उत्पादनको प्रक्रिया खेतको निरीक्षण र गुणस्तरको सबै मापन हेरेर बिउ उपयुक्त भएको प्रमाणित गरेपछि मात्रै किसानलाई उत्पादनका लागि पठाउन सक्ने संयन्त्रको विकास गर्ने उद्देश्य केन्द्रले राखेको छ ।