• १४ कात्तिक २०८२, शुक्रबार

युवतिमाथि घरमै चितुवाको आक्रमण

blog

घाइते आशिका पौडेलको दुइपिप्ले अस्पतालमा उपचार हुँदै ।

अमरराज नहर्की

तनहुँ, कात्तिक १३ गते । तनहुँको व्यास नगरपालिका –८, बाहुनपोखरा रिस्तीमा चितुवाको आक्रमणबाट एक युवती घाइते हुनुभएको छ । 

बुधबार साँझ घरमै आएर चितुवाले २२ वर्षीया आशिका पौडेलमाथि चितुवाले आक्रमण गरेको हो । वडा ८ का वडा सदस्य रामप्रसाद मिश्रका अनुसार, युवती बुधबार साँझ ८ ः१५ बजे आँगनमा भाँडा माझी रहेकैबेला चितुवा उहाँमाथि आक्रमण गरेको थियो । आक्रमणले उहाँको टाउको र काँधमा घाउ भएको छ ।

मानिसहरूले ठुलो आवाज निकाल्दै कराउँदा चितुवा भागेको मिश्रले जानकारी दिनभयो । घटनापछि आसपासका बासिन्दा त्रासमा परेका छन् । मिश्रका अनुसार पछिल्लो दिनमा यो क्षेत्रमा बारम्बार चितुवाको उपस्थिति देखिँदैआएको र बाख्रा, कुखुरालगायत घरपालुवा जनावर पनि हराउनेक्रम बढेको छ ।

घाइते पौडेललाई उपचारका लागि लमजुङको मध्यनेपाल –४, दुइपिप्लेस्थित दुइपिप्ले अस्पतालमा लगिएको थियो । अस्पतालका सञ्चालक रमेशचन्द्र भट्टराईका अनुसार युवतीको टाउको र काँधमा चितुवाको नङ र दाँतले घाउ भएको भए पनि अहिले स्वास्थ्य अवस्था स्थिर छ । 

डिभिजन वन कार्यालय तनहुँले साँझपख तथा झिसमिसे उज्यालोमा घरबाहिर ननिस्कन र स–साना बालबालिकालाई निगरानीमा राख्न आग्रह गरेको छ ।  त्यस्तै, चितुवाको आतंक नियन्त्रणका लागि तत्काल सम्बन्धित निकायले पहल गर्नुपर्ने मागसमेत गरिएको छ ।