रामकृष्ण बोहरा
बागलुङ, कात्तिक १४ गते । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लबले आधुनिक उपकरण उपलब्ध गराएपछि नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई आँखाको उपचारमा राहत मिलेको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालको पहलमा लायन्स क्लब अन्तर्राष्ट्रियले आँखा अस्पताललाई ८० लाख ९० हजारका उपकरणहरु उपलब्ध गराएपछि आँखाको उपचारमा बिरामीलाई राहत भएको हो । लायन्सले एन्टेरियर भिट्रेक्टोमीसँगै फेको मेसिन, बी स्क्यान, अटो रेफ केराटोमीटर, अटो लेन्सोमिटर, गोनियो लेन्स, स्लिट बत्ती, म्यानुअल केराटोमिटर, अप्लानेसन टोनोमिटर, नाइन्टी डि लेन्सलगायतका उपकरण हस्तान्तरण गरेको थियो ।
सुसज्जित धौलागिरी आँखा अस्पताल परियोजनाअन्तर्गत लायन्स, बागलुङ नगरपालिका र आँखा अस्पतालको साझेदारीमा उपकरण खरिद गरिएको हो । उपकरण खरिदमा लायन्स अन्तर्राष्ट्रियले ६१ लाख ७७ हजार ८ सय ३४ रुपियाँ, बागलुङ नगरपालिकाले १५ लाख र आँखा अस्पतालले ४ लाख ३ हजार १ सय ५० रुपियाँ साझेदारी गरेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका प्रोजेक्ट चियरपर्सन दुर्गा कुँवरले जानकारी दिनुभयो ।
परियोजनामार्फत प्राप्त आधुनिक उपकरणले आँखाको उपचारमा सहजता ल्याएको आँखा अस्पतालका नेत्र सहायक डा. विनम लामिछानेले बताउनुभयो । ‘अहिलेसम्म हामीले चिरेर आँखाको अप्रेसन गर्दै आएका थियौ, फाको मेसिन प्राप्त भएपछि आँखाको अप्रेसन गर्दा कम्प्युटर प्रविधि अर्थात् सानो प्वाल बनाएर लेन्स फोल्ड गरेर राख्न सहज भएको छ ।’
फाको मेसिन धौलागिरि क्षेत्रमै पहिलो पटक बागलुङमा ल्याइएको हो । यो प्रविधिले सुगर प्रेसरका बिरामीलाई अप्रेसन गर्दा राम्रो हुने डा. लामिछानेको भनाइ छ । अब कम्प्युटर प्रविधिबाट उपचार गर्न पोखरा, भैरहवा र काठमाडौं जान नपर्ने लामिछानेले बताउनुभयो ।
आँखाको पावर जाँच गर्ने अटोमेसिन समेत अस्पताललाई प्राप्त भएपछि बिरामीहरुको आँखा जाँच गर्न सहज भएको डा. लामिछानेले बताउनुभयो । २०४९ सालमा स्थापना भएको नेपाल नेत्र ज्योति संघले २०७७ सालदेखि धौलागरि आँखा अस्पताल संचालनमा ल्याएको हो । अस्पतालले साविक धौलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङसंगै छिमेकी गुल्मी जिल्लाका नागरिकलाई समेत सेवा दिँदैआएको छ ।
अस्पतालले हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञसंगको सहकार्यमा बिरामीको उपचार तथा शुल्यक्रिया गर्दैआएको छ । अप्रेसनका लागि पूर्वाधार र उपकरण पर्याप्त भए पनि अस्पतालमा नेत्ररोग विशेषज्ञको अभाव छ । शिविरमार्फत समुदायसम्म पुगेर आँखाको उपचार गर्दैआएको अस्पताललाई कार्यक्षेत्रमा अप्रेसन गर्दा उपकरणको अभाव खट्किने गरेको नेत्र ज्योति संघ बागलुङका सपभाति विन्दुसागर राजभण्डारीले बताउनुभयो । अस्पतालमा दैनिक ५० देखि ६० जना आँखाका बिरामीहरुको उपचार हुने गरेको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                