बिस प्रतिशत गाईभैँसी थारा
काठमाडौँ, असोज ५ गते । पशुलाई समयमै खान नदिने र नाम्ले तथा जुकाको औषधी नदिने आमकिसानको बानीले पशुमा थारोपन (बाँझोपन) को समस्या बढिरहेको छ । फेरि पशुलाई खान दिनु भनेको पनि टन्न हुने गरी खुवाउनु पनि होइन । शरीरलाई आवश्यक पर्ने प्रोटिन, चिल्लो र खनिज पदार्थ, भिटामिन, कार्बाेहाइड्रेट मिलाएर खुवाउनु पर्छ । यसको तालमेल नमिल्दा बाँझोपनको समस्या बढ्दो छ ।
पशु चिकित्सकका अनुसार मानिसलाई जसरी नियमित रूपमा जाँच, औषधी उपचार, सरसफाइ आवश्यक पर्छ, त्यसरी नै पशुलाई पनि ध्यान नदिने हो भने अनेकौँ रोगले सताउँछ ।
बाँझोपनको समस्याले नेपाली किसानले वार्षिक अर्बौं रुपियाँको क्षति बेहोरिरहेका छन् । नेपालमा ४९ लाख गाई र ३१ लाख भैँसीको सङ्ख्या छ । देशव्यापी रूपमा प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या छ । यसले दुध उत्पादनमा निरन्तर कमी ल्याउन थालेको छ ।
पशुमा हुने बाँझोपनमा एउटा बृहत् अध्ययन भएको छ । २०८१ चैतदेखि असारसम्म चार महिना लगाएर गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गरिएको अध्ययनले पशुमा हुने बाँझोपना ३६.८८ प्रतिशत रहेको देखाएको हो तर राष्ट्रिय रूपमा भने पशुमा २० प्रतिशतको हाराहारीमा बाँझोपन हुने गरेको छ ।
पशु चिकित्सक डा. रविन बस्ताकोटीले चार महिनामा ३८ वटा भैँसी र १२२ वटा गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनको समस्या अत्यधिक देखिएको उल्लेख गर्नुभयो ।
उहाँले पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपन आउने गरेको पाइएको बताउनुभयो । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्ने जस्ता समस्या देखा पर्ने बस्ताकोटीले बताउनुभयो ।
उहाँका अनुसार पशुमा हुने बाँझोपनाको समस्याले पशुलाई मात्रै नभई मानिसलाई पनि असर गर्छ । अधिकांश बाझोपनको समस्या पशुबाट मानिसमा सर्दैन तर केही समस्या भने पशुबाट मानिसमा सर्ने हुन्छ । जसका कारण पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सकलाई समेत जोखिम हुने र प्रजननमा विकृति देखिन सक्छ ।
विशेष गरेर लेप्टोस्पाइरोसिस, क्यु फिभर, टोक्सोप्लाज्मोसिस र क्लामाडियोसिस सङ्क्रमण पशुबाट मानिसमा सर्ने प्रकृतिका रहेको डा. बस्ताकोटीले भन्नुभयो ।
पशु पाल्ने परिवारमा महिलामा गर्भ नरहने समस्या र पुरुषमा शुक्रकिट उत्पादनमा कमी ल्याउन सक्ने भएकाले पशुमा हुने बाँझोपनको असर मानिसमा पनि देखिन सक्ने भएकाले पशुको स्वास्थ्यमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्ययनका क्रममा पशुको पाठेघरको सामान्य सङ्क्रमण २८.१२ प्रतिशत, पाठेघर सुन्निने समस्या १० प्रतिशत, पटक पटक बाली खोजिरहने समस्या १०.६३ प्रतिशतमा रहेको पाइएको छ । उहाँका अनुसार पशुमा हुने बाँझोपन, पाठेघरको मुख सुनिने समस्या ७.५ प्रतिशत, डिम्बमा पानीको फोका बन्ने ३.७५ प्रतिशत र पाठेघरमा पानी जम्ने समस्या ३.१२ प्रतिशत भेटिएको थियो ।
यस्तो समस्या आकारमा ठुला उन्नत जातमा धेरै देखिएको छ । होलस्टेन जातका गाईमा सन्तुलित आहाराको कमीका कारण सामान्यभन्दा बढी दुब्लो देखिने गर्दा थारोपन निम्तिएको उहाँले बताउनुभयो । सोही कारणले गाईमा अन्डाशयको सामान्यतः चल्ने ऋतुचक्र निष्क्रिय भएको भेटिएको स्पष्ट पार्नुभयो ।
केही गाई एक पटक ब्याएपछि पाँच वर्षसम्म पनि गर्भधारण नगरेको पाइएको थियो । उन्नत नस्लका कोरली बाच्छी १८ महिनामा पहिलो पटक ऋतुकालमा आउनुपर्नेमा २६ महिनासम्ममा पनि नआएको पाइएको छ । अधिकांश गाईभैँसी ब्याएको २१ महिनासम्ममा पनि ऋतुचक्रमा प्रवेश नगरेको पाइएको छ ।
शरीरमा रगतको मात्रा कम हुने, रगतमा हेमोग्लोबिनको कमी, शारीरिक अवस्था दुब्लो, जुकाको सङ्क्रमणलगायत कारण पनि पशुचौपायामा बाँझोपना देखिने गरेको छ ।
आहारमा हरियो घाँस, कोसे जातका घाँस दिनु आवश्यक रहेको भन्दै उहाँले सङ्क्रामक रोगको निदानका लागि पालिका र पशु सेवा कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार खनिजको कमीलाई आपूर्ति गर्न खनिज परिपूरक खाद्य सामग्री पशुलाई दिनुपर्ने हुन्छ ।
सरकारी निकायले पशुमा हुने थारोपन निवारणका लाागि धेरै पशुमा एकै पटक अध्ययनसमेत गरेको नपाइएको दशकौँदेखि व्यावसायिक पशुपालन गरिरहेका काभ्रेपलाञ्चोक मण्डनदेउपुरका किसान धुव्र पराजुलीले उल्लेख गर्नुभयो । उहाँले किसान स्वयम्को अनुभवका आधारमा थारोपन भएको पत्ता लगाउने र उपचारमा संलग्न हुने गरेको बताउनुभयो ।
पशुविज्ञ तथा नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले किसानले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पार्ने बताउँदै भन्नुभयो, “यसले दुध उत्पादनमा समेत असर पारिरहेको छ ।”
“दुध उत्पादन गर्ने भैँसी मासुका लागि प्रयोग गर्दा किसानले लाखौँ रुपियाँ नोक्सानी बेहोर्नु पर्छ,” उहाँले भन्नुभयो, “यसको रोकथामका लागि कृषक र सरकारबिच समन्वय आवश्यक छ । खाना कसरी खुवाउने, गोठको सुधार कसरी गर्ने भन्नेबारेमा कृषकका लागि समुदायस्तरमै पुगेर ज्ञान दिनु पर्छ । त्यसका लागि सरकारले किसानसँग स्वयम् पुग्ने अनुदानका कार्यक्रम सञ्चालन हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले सन्तुलित खाना र औषधी खुवाउन सके बाँझोपनको समस्या कम हुने बताउँदै पशुमा गर्भधारण नहुने समस्या मात्र नभएर पटक पटक राँगो र गोरु खोजिरहने, गर्भ तुहिने, ब्याउन नसक्ने जस्ता समस्या पछिल्लो समयमा बढिरहेको जानकारी दिनुभयो । नेपालमा अधिकांश पशुका गोठ राम्रा नभएको र कृषकले सरसफाइमा ध्यान नदिँदासमेत पशुमा सङ्क्रामक रोग फैलँदै गएको उहाँले बताउनुभयो । नेपालमा बर्सेनि १३ अर्ब रुपियाँ बराबरको भैँसी आयात हुने गरेको छ ।