• १४ कात्तिक २०८२, शुक्रबार

सांस्कृतिक पर्व समाचकेवा

blog

नेपालको तराई मधेशमा मनाइने विभिन्न धार्मिक सांस्कृतिक चाडपर्वमध्ये अत्यन्त लोकप्रिय पर्व सामा चकेवा एक हो । यो पर्व छठको समापनको दिन अर्थात् कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीकको रूपमा मानिएको सामा चकेवा पर्व तराईका केही पूर्वी जिल्लामा पञ्चमीदेखि नै सुरु भई १० दिनसम्म चल्ने गर्दछ र ११ औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन गरिन्छ ।

दिदीबहिनीले आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा पर्व मनाउने गर्छन् । दाजु र बहिनीबिचको आत्मीय प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्छन् । यो पर्वको सुरुको दिन दिदीबहिनीले गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याउँछन् र सो माटोबाट विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउने गर्छन् । माटो निर्मित मूर्ति सुकिसकेपछि सामा चकेवामा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवालाई रङ्गीचङ्गी बनाउँछन् । तराईको लोकनाटकको झल्को दिने यस पर्वका दुई वटा मुख्य पात्र हुन्छन्–सामा र चकेवा । त्यसै गरी समाजको खल पात्रको प्रतीकको रूपमा चुक्ली (चुग्ली) लगाउने एउटा अर्को पात्र पनि हुन्छ–चुग्ला । 

यी तीन वटै पात्रको प्रतीकको रूपमा बनाइएको माटोको मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल सप्तमीको साँझदेखि टोल छिमेकका दिदीबहिनी गाउँको बाहिर खुला ठाउँमा एकत्रित भई सामा चकेवासम्बन्धी गीत गाउँछन् । समूहगत रूपमा दिदीबहिनीले ‘वृन्दावन में आग लागल केहु ना मुझबइया हो, एगो हमरो बडका भइया से हो मुझइलन हो यानि वृन्दावनमा आगो लागेको छ, कसैले निभाउन सकेनन् अनि मेरो ठुलो दाजुले मात्र सो आगो निभाउनुभो’ लगायतका दाजुभाइको प्रशंसायुक्त गीत गाएर सामा चकेवा खेल्नुका साथै दाजुभाइको दीर्घायुको कामना गर्ने गर्छन् । गीतमा दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसै गरी सामा चकेवाको प्रतीकको रूपमा रहेको मूर्तिलाई शीत र दुबो खुवाइन्छ । 

सामा चकेवालाई शीत र दुबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बिचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्छन् र टोकरीलाई दाहिने हातले एकले अर्कोलाई दिँदै बायाँ हातले फेरि लिने गरिन्छ । दिने र फर्काउने यो क्रम नथाकेसम्म चलिरहन्छ । त्यसपछि असत्य, पाप र असामाजिक तत्वको रूपमा रहेको चुक्ली लगाउने पात्रको जिउमा आगो लगाइन्छ । त्यसपछि दिदीबहिनी सामा चकेवाको गीत गाउँदै आआफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामा चकेवा राखिएको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम सप्तमीको दिनदेखि चतुर्दशीसम्म चलिरहन्छ ।

पूर्णिमाको दिन यो पर्वको विसर्जन गरिन्छ । पूर्णिमाको दिन मूर्तिहरूलाई पुनः सफा सुग्घर र रङरोगन गरी विशेष किसिमले सजाइन्छ । बेलुका दही चिउरा, चिनी र मिठाईसहित मूर्तिहरूलाई विभिन्न प्रकारको भोजन गराई सकेपछि दिदीबहिनीहरूले दाजुभाइलाई मूर्तिको जुठो स्वरूप त्यही भोजन गराउँछन् । भोजन गरिसकेपछि दाजुभाइले दिदीबहिनीहरूलाई उपहार स्वरूप नगद, गरगहना, लुगा कपडा आदि दिन्छन् ।

दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निकै महत्वपूर्ण मानिने यो पर्वलाई दिदीबहिनीले निकै मन पराउँछन् । त्यसैले दिदीबहिनीले यो पर्व माइतीमा नै गएर मनाउने इच्छा राख्छन् । टाढा टाढाबाट दिदीबहिनी यो पर्व मनाउन माइती आउने गर्दछन् । खास गरी नेपालको पूर्वी तथा मध्य तराईमा मनाइने यो पर्व कहिलेदेखि मनाइन्छ भन्ने यसको ऐतिहासिक पृष्ठभूमि स्पष्ट देखिएको छैन । यो पर्वको सम्बन्धमा संस्कृतिबिच मत भिन्नता पाइएको छ । पद्मपुराण, स्कन्दपुराण र साम्बपुराणमा यो पर्वसम्बन्धी चर्चा गरिएको पाइन्छ ।

पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार सामाका बुबाको नाम श्रीकृष्ण तथा पतिको नाम चारुबक्र थियो । त्यसै गरी सामाको आमाको नाम जाम्बवती थियो । सामाको दाजु श्रीकृष्णका पुत्र साम्ब थिए । श्रीकृष्ण पुत्री सामा र चारुबक्र नामको केटा प्रणयसूत्रमा बाँधिन चाहन्थे तर सामासँग एउटा अर्को केटा पनि प्रणय सूत्रमा बाँधिन चाहन्थे । यो कुरा सामाले मन नपराएपछि त्यस केटाले षड्यन्त्र गरी सामाको सम्बन्ध कुनै मुनिसँग छ भन्ने कुरा पिता श्रीकृष्णलाई लगाईदिए । त्यसपछि श्रीकृष्ण क्रुद्ध भएर छोरी सामालाई श्राप दिएर चरी बनाइदिए । त्यसपछि सामाका प्रेमिका चारुबक्रले पनि सामा जस्तै चरा जुनीमा आउन श्रीकृष्णसँग वरदान मागे । पछि श्रीकृष्णले श्राप दिएर चारुबक्रलाई पनि चरा बनाइदिए । 

साम्बपुराणका अनुसार दाजु साम्बले कठोर तपस्या गरी बहिनी सामा र भिनाजु चारुबक्रलाई पनि मानव जुनीमा फर्काउन सफल भए । सामा र चारुबक्रले कात्तिक शुक्ल पूर्णिमाकै दिन नै पुनः मानव जुनी प्राप्त गरेका थिए । त्यसै दिनदेखि हिन्दु समाजमा सामा चकेवाको पर्व मनाउँदै आएको जन विश्वास रहिआएको छ ।