नेपालका चाडपर्वमध्ये तराई/मधेशमा मनाइने अत्यन्त लोकप्रिय पर्व हो– जुडशीतल । यो पर्वलाई प्रकृतिमैत्री र वातावरण संरक्षणका रूपमा समेत हेरिन्छ । यस पर्व पानी छ्यापेर खेल्ने गरिन्छ । मानवलाई मात्र नभएर बोटबिरुवामा समेत पानी हालिन्छ । नयाँ वर्ष र गर्मी मौसमको स्वागतमा यो पर्व मनाइन्छ । नयाँ वर्ष (वैशाख १ गते) को भोलिपल्ट मनाइने जुडशीतलको महत्व भने फरक छ । यस पर्वले वैशाखदेखि भदौसम्म तराई/मधेशमा हुने असह्य गर्मीमा शरीरको तापक्रम सन्तुलित राख्न र शरीरलाई शीतलता प्रदान गर्न खानेकुराका साथसाथै जीवनशैलीमा परिवर्तन ल्याउन सन्देश दिन्छ । यो पर्व मनाउने क्रममा नयाँ वर्षको स्वागतसमेत गरिन्छ ।
धार्मिक र प्राकृतिक महत्व रहेको यस पर्वलाई हाम्रा पुर्खाले गर्मी छेक्न र गर्मीसँग लड्न सकियोस् भनेर मनाउन थालेको भन्ने विश्वास रहिआएको छ । सूर्यको तापबाट आकुलव्याकुल प्राणीजगत्लाई शीतलता दिन यो पर्वमा मनाइन्छ । सम्पूर्ण प्राणी र वनस्पतिलाई असह्य गर्मीबाट केही भए पनि राहत र शीतलता यो पर्वले दिन्छ । यस पर्वलाई प्रकृतिपूजाका रूपमा समेत लिइन्छ । विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीले यो पर्व मनाउँछन् । तराईवासीले यो पर्व विक्रम संवत् सुरु भएको दोस्रो दिन मनाउँछन् । शीतलताको प्रतीक मानिने यस पर्वको पहिलो दिन बेलुका कुलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानाको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन् । त्यसै गरी किसानले गाईगोरु, वृक्ष तथा घरआँगनमा पानी छ्यापेर पनि यो पर्व मनाउँछन् । यो पर्वको दिन कुनै कुनै ठाउँमा चुलोको समेत पूजा गरिन्छ ।
त्यसै गरी यस पर्वको दिन बुवाआमा, गुरु, मान्यजनबाट टाउकोमा पानी छर्किंदै वर्षभरिका लागि सुख, समृद्धि, शीतलता र दीर्घ जीवनको आशीर्वाद लिने गरिन्छ । मानव मात्रको कल्याण नभई पशुपन्छी र बोटबिरुवालाई समेत शीतलता प्रदान गरिन्छ । रुखबिरुवामा पानी हाल्नुका साथै मानिसले एकले अर्कालाई हिलोसमेत छ्याप्ने गर्छन् । वातावरणीय दृष्टिले समेत जुडशीतल पर्व महत्वपूर्ण मानिन्छ । तराई/मधेशमा घरमा अतिथि पुगेपछि सबैभन्दा पहिला पानी दिएर स्वागत गरिन्छ । यसरी अतिथिलाई स्वागत गर्ने परम्परासँग पनि यस पर्वलाई जोडेर हेर्न सकिन्छ ।
‘जुड’ र ‘शीतल’ दुइटैको अर्थ एउटै हुन्छ– चिसो अर्थात् ठन्डा । गर्मीमा शीतलता प्राप्त गरिने प्रतीकका रूपमा कुनै ठाउँमा नयाँ वर्षको दिन नै जुडशीतल मनाइन्छ भने कुनै कुनै ठाउँमा वैशाख २ गते मनाइन्छ । परिवारका ज्येष्ठ सदस्यबाट आफूभन्दा कनिष्टहरूको शिरमा पानी राखेर गर्मीले केही बिगार नगरोस् भन्दै आशीर्वादस्वरूप टाउकोमा थपथपाउने गरिन्छ । अर्को सङ्केत के पनि छ भने गर्मी भयो भन्दैमा अल्छी गर्नु हुँदैन । बिहानै चिसो पानीले नुहाउनु पर्छ भन्ने नै हो । यसमा जिउभरि हिलो दल्ने परम्परासमेत रहेको छ । अरूको जिउमा पानीका साथसाथै हिलोसमेत छ्यापिन्छ । वैशाखको गर्मीमा जिउभरि हिलो दल्दा वा हिलो छ्याप्दा शरीरलाई शीतलता प्रदान गर्छ । खास गरी युवा एकआपसमा हिलो दलेर रमाइलो गर्छन् । प्राकृतिक चिकित्सामा कतिपय रोगको उपचार बिरामीको शरीरभरि हिलो दलेर गर्ने गरिएको पनि पाइन्छ ।
यो हाम्रो लोकपर्व हो । यो पर्व मनाउने क्रममा कुनै ब्राह्मण वा पुरोहितको आवश्यकता पर्दैन । कुनै शास्त्रीय मन्त्र उच्चारण गर्नु पर्दैन । बिहानै पानी हातमा लिएर शिरमा थपथपाउनुको अर्थ शीतलता प्रदान गर्नु हो । शिष्टतासँगै मनाइने यो पर्वमा हाँसो र मजाक पनि चल्छ । त्यही हाँसो र मजाक गर्ने क्रममा कोही ससुरालीमा बस्छन् भने ओछ्यानमै गएर सालासालीले पानी खन्याइदिन्छन् । बाहिर भेटिएमा जस्तो पानी पनि छ्यापिदिन्छन् । जिउभरि हिलो लगाइदिने पनि गरिन्छ । यसरी यस पर्वमा शिष्टतासँगै मनोरञ्जनसमेत गरिन्छ । यो पर्वमा एकले अर्कालाई मनोविनोद र हास्यको पात्र बनाएर सन्तुष्टि लिने पनि गरिन्छ ।
गर्मी छल्न पानीको सहजताका लागि जुडशीतल जस्ता विभिन्न लोकपर्व र लोकसंस्कार विकसित भएको देखिन्छ । यो पर्व मनाउने क्रममा इनार, कुवालगायत पानीका स्रोतको मर्मतसम्भार तथा जीर्णोद्धार गरिन्छ । जुडशीतलका दिन सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिञ्चित गरिन्छ । यो पानीको स्रोत जोगाउने र वातावरण संरक्षण गर्ने धार्मिक शिक्षा पनि हो । यो पर्व प्रकृतिसँग जोडिएको संस्कृति पनि हो । जलवायु परिवर्तन र यसको असर बढिरहेका बेला जुडशीतल पर्वको महत्व अझै सान्दर्भिक बनेको छ । प्रकृतिले मानवलाई धेरै कुरा दिए पनि मानवले प्रकृतिको संरक्षणमा ध्यान नदिने गरेको अहिलेको अवस्थामा यस पर्वले मानवलाई प्रकृतिप्रति उदार हुन सिकाउँछ ।
जल र जमिनबिना मानवको विकास सम्भव नरहेको र अहिले जल र जमिन विनाश भइरहेको सन्दर्भमा भविष्यमा विपत् निम्त्याउने खतरालाई रोक्न यस पर्वको विशिष्ट महत्व छ । नयाँ वर्षमा प्रवेश गर्दा स्वच्छ वातावरण, स्वच्छ पानी, स्वच्छ जिउ, स्वच्छ र रुचिकर खानासँगै तापविरुद्ध लड्ने शक्तिको प्रवेशका लागि प्रेरणा दिनु नै यस पर्वको निहित सन्देश हो । यस पर्वको दिन मधेश प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिन्छ ।