काठमाडौँ, असोज २४ गते । गोलभेँडाको मूल्यमा बारम्बार उतारचढाव भइरहन्छ । साउनको अन्त्यतिर पनि यस्तै भयो । प्रतिक्रेट दुई हजार रुपियाँमा बेचेको गोलभेँडा प्रतिक्रेट पाँच सय रुपियाँमा पनि बिक्न गाह्रो भएपछि प्लास्टिक घरभित्र गोलभेँडा खेती गरेका अग्रणी किसानको समूहले दक्षिण एसियामा तरकारीको बजारबारे अध्ययन ग¥यो । अध्ययनले बङ्गलादेशमा गोलभेँडा बेच्न सकिने देखायो ।
त्यसपछि त्यहाँका व्यापारीसँगको समन्वयमा नेपाली गोलभेँडाको बङ्गलादेशसम्मको यात्रा तय भयो । पहिलो पटक भएको यात्रा जोखिमपूर्ण थियो । स्थानीय बजारमा सीमित रहेका किसानले आफ्नो उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउँदै थिए ।
प्लास्टिक घरभित्रका बोटबाट टिपेका गोलभेँडा हेर्दै खाऊँ खाऊँ लाग्ने थिए । तीन दिनपछि बङ्गलादेश पुगेको नेपालको गोलभेँडा गुणस्तरमा भने निकै कमी आएछ । ढुवानीबाहेक नै नेपाली किसानले प्रतिक्रेट एक हजार रुपियाँ पाए तर त्यसबाट उनीहरू सन्तुष्ट भएनन् ।
नेपाली गोलभेँडाको बङ्गलादेशसम्मको यात्राको समन्वय गर्ने प्रमुख व्यक्ति महेश्वर बन्जारा हुनुहुन्थ्यो । सरकारसँगको सहकार्य हुने हो भने भारत, श्रीलङ्का र बङ्गलादेशमा नेपाली तरकारीले बजार पाउने आधार तय भएको उहाँको अनुभव छ ।
“बजारको समस्या देखिएन, राम्रोसँग ढुवानी गर्न मिल्ने सवारीसाधनको अभाव देखियो,” उहाँले भन्नुभयो । ढुवानीको साधन र निर्यात व्यवस्थापन सरकारले सहजीकरण गरिदिने हो भने नेपाली तरकारी अन्तर्राष्ट्रिय बजारसम्म लैजान सकिने उहाँले बताउनुभयो ।
“एकै पटक ठुलो परिमाणमा गोलभेँडा लिएर बङ्गलादेश पुग्दा गुणस्तर कम हुने रहेछ,” उहाँले उल्लेख गर्नुभयो । ढुवानीका लागि ‘कुलिङ सिस्टम’ भएको भ्यान हुने हो भने अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले राम्रो मूल्य पाउने उहाँले उल्लेख गर्नुभयो । “काठमाडौँबाट बङ्गलादेश गोलभेँडा पठाउन तीन दिन लाग्ने रहेछ,” उहाँले भन्नुभयो, “सामान्य ढुवानी गर्ने गाडीमा लिएर जाँदा गुणस्तर कायम भएन, नियमित रूपमा पठाउन सकेनौँ ।”
लामो समयदेखि प्लास्टिकको घरभित्र तरकारी खेतीमा आबद्ध श्याम तिमल्सिनाले भन्नुभयो, “बङ्गलादेशसम्म ताजा गोलभेँडा लिएर गएको प्रयास पूर्ण रूपमा सफल भएन तथापि अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन बिक्री गर्न सकिन्छ ।” लामो ढुवानीकै कारण सोचेको जस्तो गुणस्तर काम हुन नसक्दा निरन्तर निर्यात गर्न नसकिएको उहाँले बताउनुभयो ।
नेपालमा उत्पादन हुने समयमा बङ्गलादेशमा उत्पादन कम हुने भएकाले सो मौका छोपेर धेरै मूल्य पाउने उहाँले बताउनुभयो । अझ नेपालको पहाडी भूभागमा चिसो मौसममा फलेको गोलभेँडा त्यहाँका उपभोक्ताले औधी मन पराएको उहाँले बताउनुभयो ।
नेपाली बजारमा भन्दा बङ्गलादेशमा गोलभेँडाको मूल्य धेरै पाइने अनुभव उहाँको छ । “नेपालमा एक क्रेट गोलभेँडाको मूल्य पाँच सय रुपियाँ हुँदा ढुवानीबाहेक नै बङ्गलादेशमा एक हजार रुपियाँसम्म बिक्री हुने रहेछ,” उहाँले थप्नुभयो, “सरकारले ढुवानीका लागि अत्याधुनिक साधनको व्यवस्थापन गर्ने हो भने तरकारी आयात मात्रै नभएर निर्यातको राम्रो सम्भावना खोल्ने छ ।”
वर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिने भएकाले किसानको आकर्षण प्लास्टिक घरभित्रको खेतीमा पर्न थालेको छ । त्यसलाई निर्यातसम्म अघि बढाउन सरकारी निकायले समन्वय र नेतृत्वको भूमिका खेल्न उहाँले अनुरोध गर्नुभयो ।
तरकारीको भाउबारे जानकारी हुने र ढुवानीका लागि अत्याधुनिक सवारीसाधनको व्यवस्थापन गरिदिने हो भने प्लास्टिक घरभित्र उत्पादन भएको तरकारी बङ्गलादेशसम्म पु¥याउन सकिने तरकारी किसान इन्दु श्रेष्ठले भन्नुभयो । गाउँघरमा पाइने बाँसको भाटा र स्थानीय बजारमा पाइने प्लास्टिकको प्रयोग गरी प्लास्टिक घर/टनेल बनाउन सकिन्छ । त्यसतर्फ धेरै ठाउँका किसान आकर्षित भए पनि बजार अभाव भएको गुनासो कायम छ ।