जनार्जन खत्री
सर्लाही, चैत १९ गते । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाहिर बिहीबार एसईई सञ्चालन भइरहँदा मोबाइलमा प्रश्नपत्र भेटिएपछि एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कविलासी नगरपालिका–५, पचगछिया बस्ने मनोज यादव रहेको सर्लाही प्रहरीले जनाएको छ । परीक्षा केन्द्र बाहिर बसिरहेका उनको मोबाइलमा एसईई अन्तर्गत बिहीबार सञ्चालन भइरहेको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र रहेको सुनिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
सर्लाहीको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले यादवको साथमा रहेको मोबाइलबाट प्रश्नपत्र फेला परेपछि नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको जानकारी दिनुभयो । परीक्षा सञ्चालन भइरहँदा यादवले प्रश्नपत्र कहाँबाट पाए भन्ने विषयमा अनुसन्धान भइरहेको सिडिओ कडरियाले बताउनुभयो ।
स्रोतका अनुसार पक्राउ परेका यादवकै परिवारका एक सदस्यले एसईई दिइरहेको पाइएको छ । यो वर्षदेखि एसईईको परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोबाइल फोन बोक्न दिइएको छैन् ।
परीक्षार्थीका अभिभावक तथा शुभेच्छुकलाई परीक्षा केन्द्रको २०० मिटर वरपर बस्न नदिने व्यवस्थासमेत मिलाइएको शिक्षा विकास तथा समन्वय एकाइ मलङ्गवाले जनाएको छ ।