• १९ चैत २०८२, बिहिबार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

blog

जेरुसेलम, चैत १९ गते । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ ।

पहिलो आक्रमणपछि प्रहरीले मध्य इजरायलका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । सञ्चार माध्यमका अनुसार करिब नौ स्थान प्रभावित भएका छन् । तेल अभिव क्षेत्रमा चार जना सामान्य घाइते भएको चिकित्सकलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । इजरायली सञ्चारमाध्यमले आक्रमणबाट फराकिलो क्षेत्रमा क्षति पुगेको उल्लेख गर्दै यसको कारण क्लस्टर हतियारको प्रयोग हुन सक्ने बताएका छन् । 

यस्ता हतियार हावामै विस्फोट भई साना बम छर्छन् । इरान र इजरायलले यसअघि पनि एकअर्कामाथि क्लस्टर बम प्रयोगको आरोप लगाउँदै आएका छन् । पहिलो आक्रमणको करिब छ घण्टापछि इजरायली सेनाले पुनः तीन चरणमा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र पहिचान गरेको जनाएको छ । यससँगै उत्तरी र मध्य इजरायलका अधिकांश क्षेत्रमा हवाई आक्रमणको साइरन बजाइएको थियो ।

सेनाको होम फ्रन्ट कमान्डले पछि देशभरका बासिन्दालाई सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति दिइएको जनाएको छ । पछिल्ला आक्रमणबाट कुनै हताहत वा ठूलो क्षतिको विवरण तत्काल प्राप्त भएको छैन । यसअघि बुधबार, यहुदी समुदायले निस्तार चाडको तयारी गरिरहेका बेला इरानी क्षेप्यास्त्र आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जना घाइते भएका थिए । होम फ्रन्ट कमान्डका अनुसार, उत्तरी इजरायलमा बिहीबार बिहानै लेबनानबाट हुने आक्रमणको चेतावनी दिइनुका साथै हवाई आक्रमणको साइरन पनि बजाइएको थियो ।

गत मार्च २ देखि युद्धमा सामेल भएको इरानको सहयोगी लेबनानी लडाकू समूह हिजबुल्लाहले सीमावर्ती क्षेत्रमा इजरायली सेनालाई लक्षित गरी रकेट प्रहार र गाउँमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । हालसम्म उक्त घटनाबाट कुनै हताहत वा क्षतिको पुष्टि भएको छैन । रासस/एएफपी