बिष्णुप्रसाद पोखरेल
दमक, कात्तिक १४ गते । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले देशभर पानी पर्ने पूर्वानुमान भएपछि शनिवारदेखि झापाको शिवसताक्षीमा सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको कार्यक्रम सरेको छ ।
दूई दिनपछि सोमबारदेखि प्रतियोगिता सुरु हुने आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलले जनाउनुभयो । सोमबार पहिलो उद्घाटन खेलमा नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुने खरेलले बताउनु भएको छ ।
प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमता भएको पक्की स्थायी प्यारापिटमा कुर्सी जडान भएको र १० हजार दर्शक अट्ने बाँसको अस्थायी प्यारापिट निर्माणको काम सकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपियाँ, उपविजेताले ५ लाख रुपियाँ, र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपियाँ पुरस्कार पाउने खरेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा एफसी, चर्चब्वाइज युनाइटेड, झापा एफसी, आरएस पोखरा एफसी तथा भारतको सिंग्लिङ स्पोर्टिङ क्लब प्रतिस्पर्धा गर्ने निश्चित बनेको छ । यो नेपालको सर्वाधिक राशिको महिला गोल्डकप भएको दाबी आयोजकको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                