• २० असोज २०८१, आइतबार

बाल अधिकार संरक्षण भवन सञ्चालन अन्योलमा

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, कात्तिक १ गते । बागमती प्रदेशभित्रमा आफन्त नभएका असहाय बालबालिका राख्ने उद्देश्यले जिल्लाको पनौती नगरपालिका–५, गैह्रीगाउँमा निर्माण गरिएको प्रदेशस्तरीय बाल अधिकार संरक्षण भवन सञ्चालनमा अन्योल देखिएको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको भवन सञ्चालन गर्ने सम्बन्धमा प्रदेश सरकारले बजेट विनियोजन र बजेट कार्यान्वयन कार्यविधि तयार नगर्दा उक्त भवन कसले प्रयोग गर्ने भन्ने अन्योल बढेको हो। 

प्रदेशभित्र रहेका करिब सय जना आफन्त नभएका तथा असहाय बालबालिका राख्ने उद्देश्यले प्रदेश सरकारले सार्वजनिक निर्माण कार्यान्वयन एकाईमार्फत २०७७ असोज ११ गते भवन निर्माणको सम्झौता गरी पुस महिनाबाट काम सुरु गरेको थियो। 

गत चैत मसान्तमा भवन निर्माणको काम सम्पन्न भए पनि उक्त भवन पनौती नगरपालिकालाई हस्तान्तरण गरेर सञ्चालन गर्ने कि प्रदेश सरकार आफँैले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल देखिएको हो। सार्वजनिक निर्माण कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका एकाइ प्रमुख चन्द्रप्रसाद लुइँटेलले बालअधिकार संरक्षण भवन निर्माण सम्पन्न भएपछि नगरपालिकालाई हस्तान्तरण गर्न छलफल गरे पनि प्रदेशस्तरीय भवन भएका कारण उक्त भवन सञ्चालनका लागि नगरपालिकासँग बजेट र कार्यक्रम नभएको जवाफ आएको बताउनुभयो। 

उहाँले प्रदेश सरकारले बाल संरक्षण भवन सञ्चालनको लागि आवश्यक पर्ने कार्यविधि तयार नगर्दा र भवन कुर्ने तथा सञ्चालन गर्ने बजेट विनियोजन नगर्दा तत्कालका लागि भवन निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले नै भवनको संरक्षण गर्दै आएको बताउनुभयो। भवन निर्माणका लागि पाँच करोड १९ लाख २७ हजार ७६७ रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ। प्रदेशस्तरीय बाल अधिकार संरक्षण भवन निर्माणका लागि पनौती नगरपालिकाले सात रोपनी जग्गा उपलब्ध गराएको थियो। अपाङ्गमैत्री साढे तीनतले भवनमा बहुउद्देश्यीय सभा हल, पुस्तकालय, भान्छा कोठालगायतका १७ वटा कोठा रहेको छ।